चण्डिका डिस्टिलरीको व्यापार ६४ प्रतिशतले बढ्यो, डेढ अर्बमा नयाँ फ्याक्ट्री खोल्दै

काठमाडौं । चण्डिका डिस्टिलरीको व्यापार ६४ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा सन् २०२६ मा ६४.४० प्रतिशतले बढेको हो । सन् २०२५ मा २३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले गत आर्थिक वर्षमा बढेर कम्पनीले ३८ करोढ ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले २०२४ मा २९ करोड २० लाख, २०२३ मा २० करोड ९० लाख, २०२२ मा १८ करोड १० लाख र २०२१ मा ३३ करोड रुपैयाँको व्यापार गरेको थियो । सन् १९९९ मा स्थापना भएको यो कम्पनीले ४० यूपी, ५० यूपी र ७० यूपीको मदिरा उत्पादन गरी पासपोर्ट, ब्ल्याक ज्याक ब्रान्डको ह्वीस्की र पास पास ब्रान्डमा बजारमा बिक्री गर्दै आइरहेको छ । वार्षिक १ करोड ८४ लाख लिटर बोटलिङ क्षमता रहेको यो कम्पनीमा रवि केसीको ४० प्रतिशत, अभिषेक श्रेष्ठको २५ प्रतिशत, श्रद्धा केसीको १९ प्रतिशत र अवन्तिका केसीको १६ प्रतिशत स्वामित्व छ । कम्पनीमा रवि केसी अध्यक्ष छन् । कम्पनीको अधिकांश प्रवर्द्धक यति डिस्टिलरी प्रालि र याक ब्रुइङ प्रालिमा संलग्न छन् । जसले गर्दा प्रवर्द्धकहरूको डिस्टिलेसन, ब्लेन्डिङ तथा ब्रुअरी क्षेत्रमा संलग्न छन् । प्रवर्द्धकहरूले पछिल्लो पाँच वर्षमा यति डिस्टिलरीबाट वार्षिक औसत ६८ करोड ८० लाख रुपैयाँ लाभांश लिएका छन् ।

कम्पनीले यति कम्पनीलाई तोकिएको परिमाणमा एक्स्ट्रा न्यूट्रल अल्कोहल आपूर्ति गर्न ६ वर्षको सम्झौता गरेको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब १ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमध्ये एक अर्ब रुपैयाँ दीर्घकालीन कर्जाका लागि एलएलबी रेटिङ र १ अर्ब १ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एफोर प्लस रेटिङ प्राप्त गरेको छ । कम्पनीले एक अर्ब ५२ करोड ५० लाख रुपैयाँ लागतमा नयाँ प्लान्ट निर्माण गरिरहेको छ । जसबाट उत्पादन क्षमता ४९ प्रतिशतले वृद्धि भई २ करोड ७४ लाख लिटर पुग्ने अनुमान गरेको छ । कम्पनीले गत आवको अन्त्यसम्ममा ७५ प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको छ । कम्पनीले सुरुमा सन् २०२६ को जनवरीसम्ममा सञ्चालनमा ल्याउने योजना बनाएको थियो । निर्माण कार्य ढिला हुँदा कम्पनीले उक्त योजना सन् २०२७ को जनवरीसम्ममा सञ्चालनमा ल्याउने योजना बनाएको छ । सन् २०२५ मा ९.८ गुणा रहेको कम्पनीको कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थ गत आवमा ५.१ गुणा र ऋण सेवा कभरेज अनुपात १.१ गुणा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *