नेपाली चलचित्र ‘कार्की साइँला’ असोज २ गते प्रदर्शन हुने नेपालीपन बोकेको आशा लाग्दो चलचित्र बनेको छ
-सीरा अगस्त्य (सीताराम ढुङ्गेल)
कठमाण्डौ । नेपाली कथानक चलचित्र ‘कार्की साइँला’को ट्रेलर भाद्र २३ गते सार्वजनिक भएको छ। कार्की साइँला चलचित्रमा मौलिक नेपाली गाउँले गरिब भरियाको कथा, बोकेको एउटा सामाजिक यथार्थ र पूर्वी पहाडी गाउँको स्थानीय परिवेशलाई प्राथमिकतामा राखेर सत्य घटनामा आधारित भएर फरक धारमा चलचित्र बनाउने प्रयास गरिएको छ । टिजर र ट्रेलरले दर्शकमा भिन्नै स्वाद दिएको छ र ब्यापक कौतुहलता जगाउने काम गरेको छ । ट्रेलरले चलचित्रको कथावस्तु, पात्रहरूको मनोविज्ञान र घटनाक्रमको झलक दिँदै चलचित्रप्रतिको उत्सुकता अझ बढाएको छ ।
चलचित्रको ‘कार्की साइँला’ नाम आफैँमा नेपाली समाज, गाउँघर र हाम्रो मौलिक जीवनशैलीसँग नजिक रहेको अनुभूति गराउने खालको छ । चलचित्रले मनोरञ्जनसँगै समाजका वास्तविकता, सम्बन्ध, सङ्घर्ष, भावना र मानवीय संवेदनालाई पर्दामा प्रस्तुत गर्न खोजेको देखिन्छ। विशेष गरी पात्रहरूको प्रस्तुति र संवादमा देखिएको स्थानीय स्वादले चलचित्रलाई नेपाली माटोसँग जोड्ने प्रयास गरेको महसुस हुन्छ।
टिजर तथा ट्रेलरमा देखिएको दृश्य संयोजन, लोकेसन, कलाकारहरूको अभिनय र कथालाई क्रमशः खुलाउँदै लैजाने शैली आकर्षक छ। अनावश्यक रूपमा कथाको सबै रहस्य नखोली दर्शकलाई ‘अब के हुन्छ?’ भन्ने जिज्ञासा पैदा गर्न सक्नु ट्रेलरको एउटा महत्त्वपूर्ण सफलता हो।
नेपाली चलचित्र क्षेत्रमा अहिले मौलिक तथा आफ्नै समाजका कथा खोज्ने क्रम बढिरहेको अवस्थामा ‘कार्की साइँला’ एउटा आशालाग्दो प्रयासका रूपमा देखिएको फरकपन र छुट्टै स्वादको हुने विश्वास गरिएको छ । चलचित्रमा देखाइने कथा हाम्रो आफ्नै वरिपरि भेटिने मानिस, सम्बन्ध र जीवनसँग जोडिन सक्यो भने दर्शकको भावनात्मक सम्बन्ध चलचित्रसँग अझ गहिरोगरि बस्न र अडिन सक्छ।
चलचित्र ‘कार्की साइँला’ केवल मनोरञ्जनका लागि मात्र नभई नेपाली समाज र नेपालीपनको कथा बोकेको मौलिक चलचित्र हो भन्ने कुराको सकारात्मक सन्देश दिएको छ। चलचित्रले हलसम्म पुग्दा टिजर र ट्रेलरले जगाएको अपेक्षा पूरा गर्दै दर्शकको मन जित्न सफल हुनेछ। नेपाली चलचित्रको क्षेत्रमा ‘कार्की साइँला’ले एउटा सम्झन लायक अध्याय पक्कै थप्न सक्ने विश्वास गरिएको छ ।
पुराना नायक तथा कलाकार राजेन्द्र बस्नेतको ‘डेब्यु’ निर्देशन रहेको छ भने रोजल थापा मुख्य सहायक निर्देशक रहेको छन । यस चलचित्रमा चर्चित कलाकार जितु नेपाललाई (मुन्द्रे) कार्की साइँलाको मुख्य पात्रका रूपमा देख्न सकिनेछ भने उनको जोडीको रूपमा नायिका प्रियाना आचार्य रहेकी छन् । चलचित्रका अर्को मुख्य पात्रका रूपमा मनिल तामाङको सशक्त अभिनय देख्न सकिने छ। कलाकार सुशील पोखरेल, मान्सी शर्मा आदी रहेका छ्न । चलचित्रका कथाकार डम्बर राई रहेका छन भने उनै कथाकार राईले फ्लिमको छायांकन गरेका छन । कर्णबहादुर फ्लिम्स प्रालीको ब्यानरमा बालकुमार राई निर्माता रहेका छन् भने कार्यकारी निर्माताको रूपमा अनन्त राई रहेकी छिन। चलचित्रमा २ वटा गीत रहेका छन्। ‘लगेऊ परान ‘भन्ने यस अघि नै निकै चर्चित भइसकेको छ। यस गीतमा सङ्केत अगस्तीले सङ्गीत दिएका छन् भने श्रेयस अगस्ती र बेनिशा पौडेलले स्वर दिएका छन्। दोश्रो गीतमा भने सङ्गीतकार दिप्सन लिम्बुले गरेका छन् भने स्वर पनि दिप्सन स्वयमले दिएका छन्। दिप्सन यस चलचित्रमा कलाकारको रूपमा समेत अभिनय गरेर छुट्टै छाप समेत छोडेका छन्।

















