भाटभटेनी सुपर मार्केट टंगाल स्टोर आजबाट सञ्चालनमा

काठमाडौं । गत भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर पुनर्निर्माणपछि सञ्चालनमा आएको छ । उक्त स्टोर सोमबार बिहान १० बजेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको हो । स्टोर शुभारम्भका अवसरमा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङ स्वयम् उपस्थित भएका थिए । उक्त आन्दोलनमा आगजनीबाट क्षति पुगेका १२ वटा स्टोरमध्ये टंगालसहित १० वटा पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी दमक र हेटौंडाका स्टोरहरूको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । अध्यक्ष गुरूङले ‘खरानीबाट फेरि उठ्ने’ अठोटका साथ अघि बढेको बताउँदै कठिन परिस्थितिमा पनि आफ्ना १० हजारभन्दा बढी कर्मचारीलाई रोजगारीबाट अलग नगरिएको र गत वर्षको दसैं बोनससमेत कटौती नगरिएको बताए । साथै, उनले पुनर्निर्माणमा चौबीसै घण्टा खटिने कर्मचारी, ग्राहक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा आधुनिक सुविधा र गुणस्तरीय सेवा निरन्तर दिने प्रतिबद्धता जनाए ।


‘ज्यानको बाजी राखेर उठ्यौं’
आफ्नै आँखा अगाडि अबौंको सम्पत्ति जलिरहँदा मनमा गहिरो पीडा भए पनि आफूले त्यसलाई चुनौतीका रूपमा लिएर अघि बढेको अध्यक्ष गुरुङले बताए । भत्काउन र बिगार्न जति सजिलो छ, नयाँ बनाउन त्यति नै गाह्रो हुने बताउँदै उनले पुनर्निर्माणका क्रममा आफ्नो स्वास्थ्यमा समेत गम्भीर असर परेको भनाइ राखे । ‘मैले आफ्नो ज्यानको बाजी राखेर यसलाई उठाउन खोजेको छु, मेरो हेमोग्लोबिन घटेर ४ मा झरेको थियो, अहिले सुधार भएको छ,’ गुरुङले भने, ‘हामी नेपाली हिम्मतिला छौं, त्यसमा पनि गोर्खाली हौं, गोर्खालीको साहस छुट्टै हुन्छ, त्यसैले हामीले एउटै अठोट गर्‍यौं– खरानीबाट फेरि उठ्नेछौं ।’ गुरुङले भाटभटेनीलाई आफ्नो व्यक्तिगत सम्पत्ति मात्र नभई ‘देशको सम्पत्ति’ भएको बताएका छन् । ‘यो मेरो मात्र सम्पत्ति होइन, नेपालको सम्पत्ति हो, यहाँ हजारौं नेपालीले रोजगारी पाएका छन्,’ उनले भने, ‘हामीले आर्जन गरेको पैसाको ३० प्रतिशत त राजस्वमै तिर्छौं, आफ्नै सम्पत्तिमा आफैंले आगो त कसैले लगाउँदैन नि’ ४२ वर्षअघि १२० स्क्वायर फुटको भाडाको कोठाबाट श्रीमतीको गहना बेचेर जम्मा ३५ हजार रुपैयाँबाट व्यवसाय सुरु गरेको स्मरण गर्दै उनले यसमा आफ्नो रगत र पसिना बगेको बताए ।


‘यही देशमा गर्ने हो, यहीँ मर्ने हो’
अबको १५ वर्षमा इमानदार नेतृत्व पाए नेपाल एउटा विकसित देश बन्न सक्नेमा उनी निकै आशावादी रहेको बताए । देशमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै निराश भएकाहरूलाई उनले आतंकित नहुन र आफ्नो काम निरन्तर गर्न आग्रह गरे । ‘आतंकित किन हुने ? यही देशमा गर्ने हो, यही देशमा मर्ने हो, देशको विकासमा निजी क्षेत्रको ठूलो हात हुन्छ,’ उनले भने, ‘मेरो देशमा अब उप्रान्त यस्तो घटना कहिल्यै नहोस्, सरकारले निजी क्षेत्र र देशको सम्पत्तिको संरक्षण गरिदिनुपर्छ ।’ पुनर्निर्माणमा अहोरात्र खटिने इन्जिनियर, कर्मचारी, सहयोगी संस्था, सञ्चारमाध्यम र स्वदेश तथा विदेशबाट हौसला प्रदान गर्ने सम्पूर्ण शुभचिन्तकहरूलाई उनले विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

टंगाल स्टोर खुलेपछि अब ग्राहकले आधुनिक र गुणस्तरीय सेवा निरन्तर पाउने कम्पनीले प्रतिबद्धता जनाएको छ । साथै टंगाल शाखा पुनः सञ्चालनमा आएसँगै सोमबार बिहानैदेखि सामान किन्न पुगेका उपभोक्ताहरूको उल्लेख्य भिड लागेको थियो । लामो समयसम्म आफ्नो नियमित किनमेल गर्ने गन्तव्य बन्द हुँदा निराश ग्राहकहरू स्टोर खुल्दा निकै उत्साहित देखिन्थे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *