खुलेआम अध्यक्ष हटाउनुपर्छ भन्दै हिँड्ने को न्यायाधीश हो ? : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै हिँड्ने नेताहरूमाथि कटाक्ष गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सोमबार सम्बोधन गर्दै ओलीले खुलेआम अध्यक्ष फेर्नुपर्ने भन्दै हिँड्नेहरू कुन हैसियतका न्यायाधीश हुन् भनी प्रश्न गरे। पार्टीभित्र आन्तरिक बहस र अनुशासनको सीमा भत्किएको भन्दै ओलीले सार्वजनिक रूपमा नेतृत्वको आलोचना गर्ने प्रवृत्तिको चर्को विरोध गरे। ‘पार्टीभित्रको बहस पार्टीभित्र र कमिटी भित्र छलफल हुनसक्छ। तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ?’ आक्रोश पोख्दै ओलीले भने, ‘तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुस्, कमिटीमा छलफल गर्नुस्, राय राख्नुस्। बाहिर गएर जग हँसाइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने र विपक्षीलाई खुसी बनाउने छुट कसैलाई छैन।’ पार्टीका एक नेताले हालै सामाजिक सञ्जालमा लेखेको विवादास्पद स्ट्याटसतर्फ सङ्केत गर्दै ओलीले नेतृत्वविरुद्ध अशोभनीय टिप्पणी नगर्न चेतावनी दिए। ‘मन पनि नभएको, मुटु पनि नभएको, मस्तिष्क पनि नभएको, मिर्गौला पनि नभएको, हड्डीलाई छालाले बेरेको मात्रैलाई के भन्छ भन्दै स्ट्याटस लेख्ने, अनि तल ‘सोझै ठोक्नुपर्छ’ भनेर कमेन्ट गराउने जस्ता काम भइरहेका छन्,’ ओलीले भने, ‘यो तरिका पार्टीका लागि स्वस्थ हुन सक्दैन।’

यस्ता गतिविधिले विरोधीलाई खेल्ने ठाउँ दिने भन्दै उनले पार्टीको इस्पाती अनुशासन कायम राख्न सबैलाई सचेत गराए। महाधिवेशनले लोकतान्त्रिक विधिबाट नीति, विधान र नेतृत्व चयन गरिसकेको स्मरण गराउँदै ओलीले कसैलाई पनि पार्टीभित्र अराजकता मच्चाउने अधिकार नभएको स्पष्ट पारे। विचार र सङ्गठन दुवै हिसाबले एमाले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । बाहिरी राजनीतिक परिस्थितिबारे चर्चा गर्दै ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको पहरेदार भएकै कारण एमालेमाथि चौतर्फी हमला भइरहेको दाबी गरे। राज्य आतङ्क सिर्जना गरेर नेताहरूलाई पक्राउ पुर्जी जारी गर्ने र गैरकानुनी रूपमा हिरासतमा राख्ने काम भइरहेको आरोप लगाउँदै उनले यस्तो प्रतिकूल परिस्थितिमा पार्टी भित्रैबाट अनुशासनहीन गतिविधि देखिनु दुःखद भएको बताए। जनतामा पार्टीविरुद्ध विभिन्न भ्रम फैलाइएको उल्लेख गर्दै उनले भ्रम चिरेर जनस्तरमा जान कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *