काभ्रेका १२ पालिकामा कांग्रेस अधिवेशन सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये १२ तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ । खानीखोला गाउँपालिकामा भने अधिवेशन हुन बाँकी छ । कांग्रेसका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट बनेपा नगरपालिका सभापतिमा राम जोशी निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी सुधिर वैद्यलाई पराजित गरेका हुन् । त्यस्तै पाँचखाल नगरपालिका सभापतिमा सञ्जय तामाङ दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् । यसैगरी मण्डनदेउपुर नगर सभापतिमा रामहरि सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् भने पनौती नगर सभापतिमा रूपक महत र धुलिखेल नगर सभापतिमा विदुर बस्नेत सर्वसम्मत चयन भएका छन् ।

यसैगरी भुम्लु गाउँ सभापतिमा मञ्जु शाह सर्वसम्मत निर्वाचित भएकी छन् । १३ पालिका मध्ये एक मात्र महिला सभापति चयन भएकी शाह यसअधि महाधिवेशन प्रतिनिधि थिइन् । बेथानचोक गाउँ सभापतिमा डिगमान तामाङ सभापति निर्वाचित भए । बेथानचोकमा खजेन्ची लामा प्रतिस्पर्धामा थिए । तेमाल गाउँपालिका सभापतिमा बिकुलाल तामाङ, रोशी गाउँ सभापतिमा दोर्जे लामा, महाभारत गाउँ सभापतिमा दोस्रो कार्यकालका लागि सागर मोक्तान, नमोबुद्ध नगर सभापतिमा कृष्ण लामा बोम्जन र चौरीदेउराली गाउँ सभापतिमा राजेश गौतम चयन भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *