वाग्मती सरकारले बाढी प्रभावित क्षेत्रमा ५ झोलुंगे पुल र २ बेलिब्रिज बनाउने
हेटौँडा । वाग्मती प्रदेश सरकारले गत भदौमा भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त तथा नष्ट भएका पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट क्षतिग्रस्त झोलुंगे पुल पुनर्निर्माणसँगै बेलिब्रिज निर्माणका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले जानकारी दिए । बाढीबाट क्षतिग्रस्त नुवाकोट र रसुवामा पाँचवटा झोलुंगे पुल निर्माण गर्ने निर्णय गर्दै प्रदेश सरकारले निर्माण प्रक्रिया अघि बढाइसकेको जनाएको छ । नुवाकोटमा तीन र रसुवामा दुईवटा झोलुंगे पुल निर्माण गरिने भएको हो । मन्त्री केसीका अनुसार, नुवाकोटको विदुर नगरपालिका–४ मेरीस्टोप मार्गदेखि विदुर–१२ कफीबारी जोड्ने स्थानमा झोलुंगे पुल निर्माण गरिनेछ । त्यसैगरी सिमचौर र तिरतिरे भिरमा पनि झोलुंगे पुल निर्माण गरिनेछ । रसुवाको स्याफ्रुबेँसीमा एक तथा थुमनदेखि लिङ्लिङ जोड्ने अर्को झोलुंगे पुल निर्माण गरिने उनले बताए । बाढी प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन थप दुईवटा बेलिब्रिज निर्माण गर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ । विपद् प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि विभिन्न मन्त्रालयबाट प्रस्तावित बजेटमा केही कटौती गरी विपद् व्यवस्थापनमा खर्च गर्ने निर्णय गरिएको हो । मन्त्रिपरिषद् बैठकले वाग्मती प्रदेशका १३ वटै जिल्लाका जिल्ला समन्वय समितिलाई विनियोजित बजेट खर्च गर्ने अख्तियारी प्रदान गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि बजेट विनियोजन भइसकेका विभिन्न आयोजनाको रकम खर्च गर्ने अख्तियारीसमेत प्रदान गरिएको छ । प्रहरीका विभिन्न मातहतका कार्यालयका २१ वटा आयोजनाका लागि कुल १३ करोड ८२ लाख ८१ हजार रुपैयाँ बजेट खर्च गर्ने अख्तियारी दिइएको मन्त्री केसीले बताए । बैठकले प्रदेश सरकारका विभिन्न समितिलाई समेत पूर्णता दिएको छ । प्रदेश सरकार कार्यसम्पादन नियमावली, २०७४ को नियम २६ को उपनियम ९१० बमोजिम तीनवटा समितिलाई पूर्णता दिइएको हो । प्रशासन तथा विधेयक समितिको संयोजकमा आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल रहेका छन् भने मन्त्री भरतबहादुर केसी र राजेन्द्र प्रजापति सदस्य छन् । त्यस्तै, स्वास्थ्य तथा सामाजिक समितिको संयोजकमा स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ रहेका छन् भने, समितिको सदस्यमा राजेन्द्र प्रजापति र ज्ञानबहादुर तामाङ रहेका छन् । आर्थिक–सामाजिक तथा पूर्वाधार समितिको संयोजकमा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी रहेका छन् भने, समितिको सदस्यमा राजु विष्ट र रमा आले मगर रहेका छन् ।

















