बुडोल सामुदायिक साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २७ औँ वार्षिक साधारण सभाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ बमोजिम एकै साथ एकै समय तालिकामा साधारण सभाको चारवटा एकाइ बैठकको आयोजना गरी समान कार्यसूचीहरु उपर छलफल गरी असोज २४ गते एकाइ बैठकहरु सम्पन्न गरेको थियो । साधारण सभाको एकाई बैठकहरुमा कुल सदस्य संख्याको ५९.४२ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । सभामा पेश गरिएको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०८२।०८३ मा तीन करोड चौतीस लाख उनान्सय हजार छसय सन्तानब्बे रुपैयाँ सत्र पैसा सञ्चालन मूनाफा गरेको छ । सोही अवधिमा संस्थाको कुल सम्पत्ति दुई अर्ब छब्बीस करोड छैसठ्ठी लाख चौरानब्बे हजार सातसय उनान्सय रुपैयाँ पन्ध्र पैसा, बचत हिसाब एक अर्ब अठासी करोड पैतीस लाख सन्तानब्बे हजार तीनयस दश रुपैयाँ सतहत्तर पैसा, शेयर पूँजी चौध करोड पचपन्न लाख दुई हजार नौसय रुपैयाँ, संस्थागत पूँजी उन्नाइस करोड छयासी लाख सैतीस हजार बयासी रुपैयाँ सत्तरी पैसा, लगानीमा रहेको ऋण एक अर्ब अठ्ठाइस करोड सत्चालिस लाख अठासी हजार पाँचसय बीस रुपैयाँ त्रिचालिस पैसा रहेको छ ।

साधारण सभाले आर्थिक वर्ष ०८२।०८३ को मूनाफाबाट सदस्यहरुलाई ६ प्रतिशतका दरले लाभांस र संरक्षित पूँजी फिर्ता कोषमार्फत सदस्यहरुले बचत र ऋणमा गरेको योगदानको लागि २।२ प्रतिशतका दरले अतिरिक्त लाभ वितरण गर्ने निर्णय गरेको छ । साधारण सभा सम्पन्न भएसँगै लागु हुने गरी औषधी उपचारको क्रममा अस्पताल भर्ना भई बसेका सदस्यहरुलाई तीन हजार रुपैयाँ स्वास्थ्योपचार सहयोग उपलब्ध गराउने गरी सभाले आर्थिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि समेत पारित गरेको छ । यसअघि नै संस्थाले प्रसूति महिला सदस्यहरुलाई ६ हजार पाँचसय बराबरको मातृत्व सुरक्षा सहयोग, एक लाख बराबरको दुर्घटना बीमा सुविधा, घातक रोगमा सदस्यहरुलाई बीस हजार बराबरको उपचार सहयोग, सदस्यको मृत्युमा परिवारलाई तीस हजार रुपैयाँ काजकिरिया खर्च सहयोग, प्राकृतिक प्रकोपमा बीस हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले सम्पूर्ण सदस्यहरुको समानान्तर शेयर कायम गर्दै मूनाफामा मात्र केन्द्रीत नभै सदस्यहरुले विभिन्न अवस्थामा विभिन्न खालका लाभहरु प्राप्त गर्न सक्ने गरी योजना अगाडि सारेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *