एउटै ‘म्याकडवेल्स’ले नेपाल लिकर्सलाई तीन वर्षपछि नाफामा फर्कायो, सञ्चालन आम्दानी १ अर्ब ४३ करोड
काठमाडौं। मदिरा उत्पादक कम्पनी नेपाल लिकर्स प्रालि तीन आर्थिक वर्षको घाटापछि आर्थिक वर्ष २०८२।८३ मा खुद नाफामा फर्किएको छ। सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी १४३ करोड ७० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा १२७ करोड रुपैयाँ रहेको आम्दानी एक वर्षमै करिब १३ प्रतिशतले बढेको हो। २०७९।८० मा ७६ करोड ४० लाख रहेको आम्दानी तीन वर्षमा करिब ८८ प्रतिशतले बढेको छ। कम्पनीको वित्तीय विवरणको विश्लेषणअनुसार उपभोक्ता मागमा सुधार, बिक्री परिमाणमा वृद्धि र नयाँ ब्रान्ड थपिनुले कारोबार बढाएको हो। कम्पनीको आम्दानीमा सबभन्दा ठूलो हिस्सा ‘म्याकडवेल्स नम्बर वान लक्जरी’ ह्विस्कीको छ। २०८२।८३ मा यो ब्रान्डले कुल आम्दानीको करिब ५२ प्रतिशत ओगटेको छ। कम्पनीले सिग्नेचर प्रिमियर ग्रेन, सिग्नेचर रेयर एज्ड, स्मिरनफ भोड्का, एन्टिक्विटी ब्लु अल्ट्रा प्रिमियम, रोयल च्यालेन्ज र ब्ल्याक हर्सजस्ता ब्रान्ड पनि बिक्री गर्दै आएको छ।
अन्तर्राष्ट्रिय ब्रान्डसँगको फ्रेन्चाइज व्यवस्थाले कम्पनीलाई उत्पादन विविधता कायम राख्न सहयोग गरेको छ। तर, आधाभन्दा बढी आम्दानी एउटै ब्रान्डमा निर्भर हुँदा प्रमुख ब्रान्डको बिक्री घटे समग्र कारोबारमा असर पर्ने जोखिम छ। सञ्चालन नाफाको मार्जिन भने अघिल्लो वर्षको १९.०३ प्रतिशतबाट घटेर १६.३३ प्रतिशतमा झरेको छ। मार्जिन घटे पनि सञ्चालन नाफामा सुधार र ब्याज खर्चमा आएको कमीले खुद नाफा सकारात्मक बनाएको विवरणमा उल्लेख छ। नगद सिर्जना क्षमतामा पनि सुधार आएको छ। २०८०।८१ मा करिब १९ करोड रुपैयाँ ऋणात्मक रहेको कुल नगद सञ्चिति सिर्जना २०८१।८२ मा ५ करोड २० लाख र २०८२।८३ मा ९ करोड १० लाख रुपैयाँ पुगेको छ। ऋण भुक्तानी क्षमता अनुपात ०.९६ गुणाबाट १.२६ गुणा र ब्याज भुक्तानी क्षमता अनुपात १.२९ गुणाबाट १.६१ गुणा पुगेको छ। तर, वित्तीय संरचना अझै कमजोर छ। लगातार तीन वर्ष सञ्चित घाटा रहँदा कम्पनीको मूर्त खुद सम्पत्ति ऋणात्मक छ। कार्यशील पुँजीको तीव्रता १२२ प्रतिशतबाट घटेर १०९ प्रतिशतमा आए पनि कम्पनीले स्वीकृत कार्यशील पुँजी कर्जाको करिब ९८ प्रतिशत उपयोग गरिसकेको छ। यसले दैनिक सञ्चालनका लागि बैंक ऋणमा उच्च निर्भरता र थप वित्तीय स्रोतको सीमित गुञ्जायस देखाउँछ। कम्पनीको वितरण प्रणालीले पनि जोखिम थपेको छ। पछिल्लो व्यवस्थाअनुसार बिक्री एउटै सम्बन्धित पक्षको वितरकमार्फत हुने भएकाले बजार पहुँच, भुक्तानी चक्र र व्यावसायिक निरन्तरतामा जोखिम हुन सक्छ। यस्तो कारोबारमा पारदर्शिता कायम गर्नु पनि चुनौती हो। मदिरा उद्योग कर, उत्पादन तथा वितरणसम्बन्धी नियम र विज्ञापन प्रतिबन्धबाट प्रभावित हुन्छ। तयारी मदिरा आयातमा लाग्ने उच्च भन्सारले स्वदेशी उत्पादकलाई केही संरक्षण दिएको छ, तर कर नीति बदलिए प्रतिस्पर्धा र नाफामा असर पर्न सक्छ। आयातित कच्चा पदार्थमा निर्भरताका कारण आपूर्ति शृङ्खला र विदेशी मुद्रा विनिमयको जोखिम पनि कायम छ। सन् १९८२ मा स्थापना भएको नेपाल लिकर्स यसअघि युनाइटेड स्पिरिट्स नेपाल प्रालिका नामबाट सञ्चालनमा थियो। कम्पनीको कारखाना विराटनगरस्थित टंकीसिनवारी–२ मा छ। कार्यकारी अध्यक्ष राजेशवीर सिंह तुलाधरसँग सन् २०२५ जुलाई मध्यसम्म कम्पनीको करिब ९९ प्रतिशत सेयर स्वामित्व थियो। आगामी वृद्धि स्थापित ब्रान्डको बजार विस्तार, नयाँ उत्पादनको बजारीकरण, वितरण प्रणालीको विविधीकरण र कार्यशील पुँजी व्यवस्थापनमा निर्भर हुने देखिन्छ। बढ्दो कारोबारलाई दिगो नाफामा बदल्दै सञ्चित घाटा र ऋणको भार घटाउन सके कम्पनीको वित्तीय अवस्था बलियो बन्न सक्छ।

















