चेम्बर अध्यक्ष र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत अनिल सुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । बुधबार चेम्बर भवनमा भएको भेटमा पूर्वाधार विकास, खानी तथा खनिज, ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो । सो अवसरमा चेम्बर अध्यक्ष अग्रवालले नेपाल र दक्षिण अफ्रिकाबीच आर्थिक सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, बजार पहिचान तथा संयुक्त लगानीलाई प्राथमिकता दिनुपर्ने बताए । उनले नेपाली पश्मिना, चिया, कफी, मसला तथा हस्तकलाका सामग्री दक्षिण अफ्रिकी बजारमा प्रवर्धन गर्न सकिने उल्लेख गर्दै कृषि प्रशोधन, नवीकरणीय ऊर्जा र पर्यटन क्षेत्रमा पनि सहकार्यको पर्याप्त सम्भावना रहेको बताए । उत्पादनको गुणस्तर, प्राविधिक मापदण्ड, भन्सार शुल्क तथा ढुवानी खर्चसम्बन्धी जानकारी आदानप्रदान गर्न सके व्यापार विस्तारमा सहयोग पुग्ने उनको भनाइ थियो । अध्यक्ष अग्रवालले नेपालका उच्च मूल्यका कृषि उत्पादनलाई दक्षिण अफ्रिकाको सिँचाइ, शीतभण्डारण तथा कृषि प्रशोधनसम्बन्धी अनुभवसँग जोड्न सकिने बताए । कृषि उत्पादनको प्रशोधन, प्याकेजिङ, भण्डारण र बजार व्यवस्थापनमा संयुक्त परियोजना सञ्चालन गर्न सके निर्यात प्रवर्धन र रोजगारी सिर्जनामा समेत योगदान पुग्ने उनले उल्लेख गरे । त्यसैगरी, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, विद्युत् प्रसारण सञ्जाल तथा जलवायु अनुकुल पूर्वाधार विकासमा सहकार्यका अवसर पहिचान गर्नुपर्नेमा उनले जोड दिए । नेपालको हिमाली तथा सांस्कृतिक पर्यटनलाई दक्षिण अफ्रिकाको वन्यजन्तु तथा सफारी पर्यटनसँग जोडेर संयुक्त पर्यटन प्याकेज विकास गर्न सकिने सम्भावना पनि उनले औँल्याए । अध्यक्ष अग्रवालले नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापारिक सम्बन्धलाई परिणाममुखी बनाउन चेम्बर, कूटनीतिक नियोग तथा सम्बन्धित सरकारी निकायबीच नियमित संवाद आवश्यक रहेको बताए । दुवै देशका निजी क्षेत्रका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमूह गठन, प्राथमिकताका वस्तु तथा सेवाको सूची निर्माण र सम्भावित लगानी परियोजनाको पहिचानमार्फत सहकार्य अघि बढाउन सकिने उनले उल्लेख गरे । दक्षिण अफ्रिकाका राजदूत प्रा. अनिल सुकलालले नेपालसँग निजी क्षेत्रको सहकार्यलाई व्यावहारिक रूपमा अघि बढाउन सकिने सम्भावित क्षेत्रबारे चर्चा गर्दै पूर्वाधार विकास र खानी तथा खनिज क्षेत्रलाई प्राथमिकतामा राख्न सकिने बताए । राजदूत सुकलालले दक्षिण अफ्रिकी कम्पनीहरूले मध्यपूर्वलगायत विभिन्न अन्तर्राष्ट्रिय बजारमा पूर्वाधार निर्माण तथा विकासका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै उनीहरूको अनुभव नेपालका पूर्वाधार आयोजनामा उपयोगी हुन सक्ने बताए । त्यसैगरी, खानी तथा खनिज अन्वेषणमा दक्षिण अफ्रिकासँग लामो अनुभव र प्राविधिक दक्षता रहेको उल्लेख गर्दै नेपालमा उपलब्ध खनिज स्रोतको पहिचान, सम्भाव्यता अध्ययन तथा विकासमा सहकार्य गर्न सकिने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *