‘ककरोच’ आन्दोलनकारी आज पुनः सडकमा उत्रिने तयारीमा
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा प्रहरीले अघिल्लो प्रदर्शन रोकेको र दुई प्रमुख नेतालाई जेल पठाएको केही दिनपछि हजारौँ ‘ककरोच’ आन्दोलनकारी शुक्रबार (आज) पुनः सडकमा उत्रिने घोषणा गरेका छन् । निर्वाचन सुधारको माग गर्दै युवाले सुरु गरेको ‘ककरोच जनता पार्टी’ (सीजेपी)ले समर्थकहरूलाई दिल्लीको व्यस्त व्यापारिक क्षेत्र कन्नट प्लेसस्थित सेन्ट्रल पार्कमा भेला हुन आह्वान गरेको छ । प्रदर्शनका लागि निषेधित जन्तरमन्तर क्षेत्रमा प्रवेश गरेपछि सीजेपीका दुई नेतामाथि पाँच दिनको जेल सजाय सुनाइएको थियो । त्यसलगत्तै नयाँ प्रदर्शनको आह्वान गरिएको हो । निर्वाचन धाँधलीविरुद्ध सुरु भएको आन्दोलन अहिले प्रदर्शन गर्न पाउने नागरिक अधिकारको लडाइँमा रूपान्तरण भएको छ । सेन्ट्रल पार्क पनि प्रदर्शनका लागि स्वीकृत स्थल होइन । एक स्थानीय व्यापारीले ट्राफिक र व्यापारमा अवरोध पुग्ने भन्दै प्रदर्शन रोक्न माग गरी दायर गरेको याचिकामा दिल्ली उच्च अदालतले बिहीबार सीजेपीको प्रदर्शनमाथि प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ । सीजेपीका संस्थापक अभिजीत दीपकेले प्रदर्शनलाई ‘लहरा दो तिरंगा’ अर्थात् राष्ट्रिय झण्डा फहराऔँ नाम दिएका छन् । उनले आफू पुनः पक्राउ पर्न तयार रहेको बताएका छन् ।यद्यपि, आन्दोलनकारीलाई सेन्ट्रल पार्कसम्म पुग्न कठिन हुन सक्ने देखिएको छ । गत शनिबार प्रहरीले अवरोध खडा गर्नुका साथै सामूहिक गिरफ्तारी गरेपछि धेरै प्रदर्शनकारी सहभागी हुन पाएका थिएनन् । दीपकेले दिल्ली पुग्न नसक्ने समर्थकलाई आफू रहेकै स्थानबाट भारतीय झण्डा उठाएर विरोध जनाउन आग्रह गरेका छन् । गत मे महिनामा भारतका प्रधानन्यायाधीशले बेरोजगार युवालाई ‘ककरोच’ अर्थात् साङ्लोसँग तुलना गरेपछि यो आन्दोलन सुरु भएको थियो । दीपकेले उक्त शब्दलाई आत्मसात् गर्दै अनलाइनमार्फत विरोध अभियान अघि बढाएका थिए । जुलाईसम्म आइपुग्दा परीक्षाको प्रश्नपत्र चुहिएको घटनाविरुद्ध दीपके र उनका समर्थकले सडक अवरुद्ध गरेका थिए । उक्त प्रदर्शनपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपरेको थियो । केही महिनामै ‘ककरोच’ आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध युवा असन्तुष्टिको प्रमुख प्रतीक बनेको छ । अहिले आन्दोलन भारतको निर्वाचन प्रणालीसँग सम्बन्धित विवादतर्फ केन्द्रित भएको छ । यसको मुख्य विषय मतदाता नामावलीको ‘विशेष गहन पुनरावलोकन’ ९एसआईआर० प्रक्रिया हो ।
आलोचकहरूले यस प्रक्रियामार्फत १३ करोडभन्दा बढी मानिसको नाम मतदाता नामावलीबाट हटाइएको आरोप लगाएका छन् । यसले वास्तविक मतदातासमेत मतदानको अधिकारबाट वञ्चित हुन सक्ने उनीहरूको चिन्ता छ । सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले सत्तारूढ भारतीय जनता पार्टीको पक्षपोषण गरेको आरोप लगाउँदै उनको राजीनामा माग गरेको छ । निर्वाचन आयोग र सरकारले भने यी आरोप अस्वीकार गर्दै आएका छन् । शुक्रबारको प्रदर्शन गत साताको सामूहिक विरोधलाई प्रहरीले रोकेको, नेताहरूलाई नियन्त्रणमा लिएको र राजधानीभर सुरक्षा व्यवस्था कडा पारेको एक साताभित्र हुन लागेको हो । त्यतिबेला दीपके र दुई वरिष्ठ आयोजक सौरभ दास तथा आशुतोष रान्कालाई दिल्लीमा विमान अवतरण भएपछि जहाजभित्रैबाट नियन्त्रणमा लिइएको थियो । प्रदर्शन रोक्न राजधानीमा कडा सुरक्षा व्यवस्था लागु गरिएको थियो । हजारौँ प्रहरी र अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएका थिए । बीबीसी

















