तातोपानी नाका पटक-पटक अवरुद्ध
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसद आइतबार चीन प्रस्थान गरे । उनीहरू चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा चीन गएका हुन् । रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा हाल चीन भ्रमणमा रहेको रास्वपा टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा आनन्दबहादुर चन्द छन् । त्यस्तै, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा। धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा। राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा। सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा पनि चीन भ्रमणमा छन् । उनीहरू ११ दिन चीनमा रहँदा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि, जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्व, राजनीतिक संवाद तथा विकास सहकार्यलगायत विषयमा अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ । जम्बो टोली चीन भ्रमणमा गएकै भोलिपल्ट सिन्धुपाल्चोक क्षेत्र नं.१ बाट निर्वाचित रास्वपा सांसद भरत प्रसाद पराजुलीले सोमबार काठमाडौंमा सर्वपक्षीय बृहत् अन्तरक्रियाको आयोजना गरे । अन्तरक्रियाको विषय थियो– तातोपानी नाका खुलाउने । कार्यक्रममा व्यापारी, व्यवसायी, भोटेकोसी गाउँपालिकाका जनप्रतिनधिलगायतको उपस्थिति थियो । व्यापारी तथा व्यवसायी सबैका आ–आफ्नै पीडा थिए । प्रायः उनीहरू सबैले हाल चीन भ्रमणमा रहेका रास्वपाका २० जना सांसदलाई सम्झँदै कूटनीतिक पहल गर्न अनुरोध गरेका थिए । “रास्वपाका २० जना सांसद चीन भ्रमणमा जानुभएको छ, उहाँहरूले तातोपानी नाका खुलाउन पहल गर्नुपर्यो,” व्यवसायी विष्णुप्रसाद आचार्यले भने, “तातोपानी नाका छिटो सञ्चालनमा आउनुपर्यो ।” कार्यक्रममा बोल्ने अधिकांश व्यापारी तथा व्यसायीको एउटै प्रश्न थियो– तातोपानी नाका पटक,पटक बन्द हुनुको खास कारण के हो ? “तातोपानी नाका किन बन्द भएको हो ? चीनले किन बन्द गरेको हो ? चीनले तातोपानी नाका खोल्न किन नचाहेको हो ?” राष्ट्रिय व्यापार संघका अध्यक्ष हिमलाल खरालले भने, “पहिला यी कारण बुझ्न जरुरी छ ।” चीनसँगको प्रमुख व्यापारिक नाका ‘तातोपानी नाका’ खुलाउन पटक,पटक छलफल गरे पनि खुलाउन नसकिएको उनले जनाए । एकता व्यापार संघ नेपालका अध्यक्ष तेजप्रसाद आचार्यले २०७२ सालको भूकम्पपछि तातोपानी नाका अघोषित रूपमा बन्द भएको जनाए । पछिल्ला वर्षहरूमा तातोपानी नाकामा समस्या आइरहेको जनाउँदै उनले जेठमा मगाएको सामान अहिलेसम्म प्राप्त नभएको बताए । “तीजको लागि मगाएको सामान बल्ल आएको छ । दसैँको सामान आएकै छैन । व्यापारी, व्यवसायी डिप्रेसनमा गएको अवस्था छ । तातोपानी नाका खुलाउन कूटनीतिक पहल गर्नुपर्यो,” आचार्यको भनाइ थियो ।
तातोपानी नाका बन्द हुनुको खास कारण पत्ता लगाउनुपर्ने उनले बताए । तातोपानी नाकालाई राज्यले संकोचित रूपमा हेरेको आरोप उनको थियो । “के गरे नाका खुल्छ सरकारले भन्दिनुपर्यो । व्यापारी, व्यवसायी सधैँ तड्पिनुपर्ने हो ?” आचार्यले भने । नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेलले तातोपानी नाका खुलाउनेतर्फ सरकारले ध्यान नदिएको आरोप लगाए । उनको भनाइ थियो, “राज्यले आफ्नो राजस्व उठाउने ठाउँमा नै ध्यान दिँदैन भने कहाँ दिने ?” तातोपानी नाका नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका हो । गत आर्थिक वर्ष २०८२।८३ मा चीनबाट तातोपानी नाका हुँदै नेपालमा ४७ अर्ब ४८ करोड ६१ लाख १८ हजार रुपैयाँको वस्तु भित्रिएका थिए । चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो तीन महिनामा १ अर्ब १५ करोड ७२ लाख रुपैयाँको वस्तु तातोपानी नाकाबाट नेपाल भित्रिएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा तातोपानी नाकाबाट ९ अर्ब ४४ करोड ५५ लाख ४८ हजार रुपैयाँका वस्तु नेपाल भित्रिएका थिए । २०८३ भदौ १० गते भेटेकोसी बाढीले रसुवागढी–केरुङ नाका ध्वस्त पारेको पाँच दिनपछि अर्थात भदौ १५ गतेबाट तातोपानी नाकाबाट व्यावसायिक कारोबार रोकिएको थियो । चिनियाँ पक्षले नेपाली भूभागको लिपिङ क्षेत्रमा पहिरोको जोखिम रहेको कारण देखाउँदै तातोपानी नाकाबाट सामान पठाउन बन्द गरेको थियो । गएको दसैँमा तीन दिन मात्र तातोपानी नाका खुल्यो, त्यसपछि फेरि बन्द भयो । “दसैँको बेला तीन दिन नाका खुल्यो, त्यसपछि बन्द भयो । के कारणले खुल्यो र बन्द भयो ? राज्यले चाहँदा त खुलाउन सक्ने रहेछ,” व्यावसायी विष्णुप्रसाद आचार्यले भने । नेपाल राष्ट्रिय व्यावसायी महासंघका उपाध्यक्ष हरि गौतमल तातोपानी नाका के कारण बन्द भयो भन्ने कुनै व्यावसायीलाई पनि थाहा नभएको जनाए । उनले भने, “हामी व्यावसायी पीडामा छौँ । गत वर्ष टिमुरेमा ठूलो क्षति गर्यो । यो वर्ष भोटेकोसीले झन् ठूलो क्षति गर्यो । हामी व्यावसायीले चाहेको छिटो तातोपानी नाका खुलोस् भन्ने हो ।” नाका बन्द हुँदा व्यापारी तथा व्यावसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ । नाका खुलाउन कसलाई भन्ने बारेमा आफूहरू अन्योलमा रहेको उनले बताए । “तातोपानी नाकामा ल्याएको सामान कोरला नाकामा पुगेका छन् । हाम्रो पीडा भनिसाध्य छैन,” उनले भने, “तातोपानी नाका बन्द हुनुको कारण व्यावसायीले खोजीरहेका छन् ।
उत्तरी नाकाको विकल्प के हो ?” नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले तातोपानी नाका खुलाउन उच्चस्तरीय कूटनीतिक पहलको आवश्यका औँल्याए । “अहिले रास्वपाका २० जना सांसद चीन भ्रमणमा हुनुहुन्छ । यस विषयमा उच्चस्तरीय बैठक गरे प्रभावकारी हुनसक्छ,” उनले भने । तातोपानी नाका बन्द हुँदा यसले नेपाल र चीन दुवैलाई गर्ने क्षतिबारे चीनलाई बुझाउन सक्नुपर्ने उनले जनाए । “यदि नाका बन्द गर्नुमा चीनको सुरक्ष चासो हो भने हामीले कस्तो सुरक्षाको प्रत्याभूति गराउन सके चीनले नाका खोल्छ त रु कुन ठाउँमा सुरक्षा चासो व्यक्त गरेको छ, त्यहाँ सुरक्षा बढाउनुपर्यो । तातोपानी नाका राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको छ,” उनले भने । रास्वपाका सांसद भरतप्रसाद पराजुलीले तातोपानी नाका खुलाउन नेपाल सरकार, चीन सरकार, स्थानीय सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय र आपसी विश्वास सहितको सहकार्य जरुरी रहेको बताए । “तातोपानी नाका खुल्नुपर्छ, सुरक्षित रूपमा सञ्चालन हुनुपर्छ र यसलाई भविष्यमा बन्द गर्नुपर्ने अवस्था नआउने गरी दीर्घकालीन पूर्वाधार तथा व्यवस्थापनको विकास गरिनुपर्छ,” रास्वपा सांसद पराजुलीले भने । तातोपानी नाका भूकम्प, महामारी, बाढी, पहिरो र भौगोलिक असुरक्षाका कारण पटकपटक अवरुद्ध हुँदै आएको उनले बताए । उनले थपे, “नाका बन्द हुँदा भन्सारको कारोबार मात्र बन्द हुँदैन । हजारौँ मानिसको रोजगारी, स्थानीय बजारको कारोबार, यातायात व्यवसाय र राष्ट्रिय आपूर्ति प्रणालीको व्यवस्थामा समेत गम्भीर असर परेको छ ।”
सन् १९६० को दशकमा चीनको सहयोगमा अरनिको राजमार्ग निर्माण भएको थियो ।
सन् १९६७ मा काठमाडौंदेखि कोदारीसम्मको सडक सम्पर्क स्थापित भएपछि तातोपानी नाका नेपाल र चीनबीचको प्रमुख स्थलगत व्यापारिक मार्गको रूपमा विकासित भएको हो । तातोपानी नाका सञ्चालनका क्रममा विभिन्न समयमा अवरोध हुँदै आएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले तातोपानी नाकामा ठूलो क्षति गरेको थियो । भूकम्पपछि चीन सरकारका तर्फबाट तातोपानी नाका असुरक्षित रहेको र सडक तथा भौतिक संरचनाको अवस्था सुधार गनुपर्ने कारण देखाउँदै नाका बन्द गरिएको थियो । त्यसपछि नेपाल सरकारले विभिन्न समयमा कूटनीतिक पहल गरेको थियो । स्थानीय जनप्रतिनिधि, व्यावसायी र नागरिक समाजले पनि नाका खोल्न निरन्तर माग गरेका थिए । भूकम्प गएको चार वर्षपछि २०७६ जेठ १५ गतेबाट तातोपानी नाका आंशिक रूपमा पुनः सञ्चालनमा आएको थियो । प्रारम्भमा सीमित रूपमा मालवाहक सवारीसाधन सञ्चालन गरिएका थिए । सन् २०२० जनवरीदेखि कोभिड–१९ महामारीका कारण चीनले सीमा आवागनमा कडाई गर्यो, जसका कारण तातोपानी नाका प्रभावित भयो र बन्द भयो । त्यसपछि २०७९ वैशाखमा कोभिडसम्बन्धी स्वास्थ्य सामाग्री हस्तान्तरणका लागि तातोपानी नाकामा सीमित गतिविधि सुरु गरिएको थियो । २०८० वैशाख १९ गतेबाट अर्थात भूकम्पको ८ वर्षपछि तातोपानी नाका हुँदै नेपालबाट चीनतर्फ निर्यात सुरु भएको थियो । २०८० भदौ १५ गतेबाट सर्वसाधरणको आवतजावत पनि सीमित व्यवस्थासहित पुनः सुरु गरिएको थियो । २०८३ भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी–केरुङ नाकामा ठूलो क्षति गर्यो । बाढीले नाकाका सम्पूर्ण संरचनासहित बस्तीलगायत भौतिक संरचनामा क्षति गरेको थियो ।
२०८३ भदौ १५ गते पहिरोको जोखिम देखाउँदै तातोपानी नाकाबाट पनि व्यावसायिक कारोबार चीनले बन्द गर्यो । त्यसपछि दसैँको अवसरमा तीन दिन नाका खुल्यो र पुनः बन्द गरियो । बन्द भएको नाका हालसम्म खुलेको छैन । “हामी चीन सरकारले आफ्नो देशको सुरक्षा, सीमावर्ती जनताको सुरक्षा र प्राकृतिक विपत्तिको जोखिमलाई गम्भीरतापूर्वक लिनु स्वभाविक मान्दछौँ । कुनै पनि देशले आफ्नो सीमाको सुरक्षा र जोखिम व्यवस्थापनलाई प्राथमिकता दिन पाउँछ । हामी त्यसको सम्मान गर्छौं,” रास्वपाका सांसद पराजुलले भने, “तर, मनसुन समेत सकिएको अवस्थामा प्राकृतिक विपत्तिको जोखिमको कारणले अस्थायी रूपमा बन्द गरिएको नाका लामो समयसम्म व्यापारिक गतिविधि पूर्ण रूपमा बन्द भइरहने अवस्था कायम नराखी खोल्नको लागि चीन सरकारसँग हाम्रो विनम्र आग्रह रहेको छ ।

















