सरकारप्रति कांग्रेसको दृष्टिकोण शासनशैलीमा अराजकता र स्वेच्छाचारिता हाबी
काठमाडौं । नेपाली कांग्रेसले सरकारमा शासकीय अराजकता र स्वेच्छाचारिता हाबी भएको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले सरकारको शासनशैलीप्रति यस्तो निष्कर्ष निकालेको हो । सरकारको दायित्व संविधानको पालना र संरक्षण गर्नु रहे पनि पछिल्ला व्यवहारले संविधानको मर्म, भावना, सीमा र लोकतान्त्रिक प्रतिबद्धतामाथि प्रश्न खडा गरेको कांग्रेसको भनाइ छ । कार्यपालिकाले आफ्नो संवैधानिक सीमाभन्दा बाहिर गएर व्यवस्थापिका, संवैधानिक निकाय तथा राज्यका विभिन्न अंगमाथि हस्तक्षेप र नियन्त्रणको प्रयास गरिरहेको छ,कांग्रेसले भनेको छ,राष्ट्रपतिजस्तो गरिमामय संस्थाको अवमूल्यन गर्ने व्यवहार समेत देखिएको छ । सरकारले संवैधानिक मर्म र भावनालाई पटक,पटक उल्लंघन गरेर शासकीय अराजकता प्रस्तुत गरेको कांग्रेसको आरोप छ । सरकार विधिको शासनको सट्टा स्वेच्छाचारिता अग्रसर भएको कांग्रेसको भनाइ छ । सरकारले राज्यका संयन्त्रलाई प्रतिशोधका लागि दुरुपयोग गरेको कांग्रेसको निष्कर्ष छ । लोकतन्त्रमा सरकारले कानुन बनाउँछ र त्यही कानुन सरकारलाई पनि लागु हुन्छ । कानुन न्याय सुनिश्चित गर्ने माध्यम हो । प्रतिशोध साध्ने हतियार होइन, कांग्रेसले भनेको छ । राज्यका कानुन विपरीतका गतिविधिमा सरकार निकट व्यक्तिले उन्मुक्ति पाइरहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । राज्यका कानुनी निकाय र संरचनालाई सरकारले आफ्नो सचिवालय जस्तो ठानेको कांग्रेसको आरोप छ । सुनकोसी,मरिन आयोजनासँग सम्बन्धित प्रकरण तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएका मोबाइल प्रकरणले सकारको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। प्रहरी अनुसन्धानसँग सम्बन्धित प्रमाणमाथि हस्तक्षेप आफैँमा गम्भीर छ, कांग्रेसले भनेको छ । प्रधानमन्त्री निकटलाई र नागरिकलाई फरक फरक कानुन लागू गर्न खोजेको भन्दै कांग्रेसले सरकारप्रति प्रश्न गरेको छ । आफ्नो निकटस्थलाई संरक्षण गर्ने हो भने विधिको शासन कहाँ रहन्छ ? यस्तो बाटोबाट कस्तो सुशासन स्थापना गर्न खोजेकोरुुु कांग्रेसको प्रश्न छ । खस्कँदो अर्थतन्त्र र जनजीविका संकटमा रहँदा सरकार उदासीन रहेको आरोप कांग्रेसको छ । अर्थतन्त्रको वास्तविक चित्र सार्वजनिक गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । कांग्रेसले शासन शैली सच्याउन र संवैधानिक मर्यादामा रहन सरकारको ध्यानाकर्षण गराएको छ । हामी सरकारको असफलता चाहँदैनौँ । देशको सफलता चाहन्छौँ सरकार विधिसम्मत ढंगले चलोस्, कांग्रेसले भनेको छ।
यस्ता छन् अन्य निर्णय
कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणमा भैरहवा हवाई मार्गबारे भएको सहमतिको स्वागत गरेको छ । यस्तै, भोटेकोशी बाढीपछिको पुनर्निर्माण र विकास सहयोग प्याकेजबारेको सहमतिलाई पनि सकारात्मक भनेको छ । सीमा विवादबारे प्रधानमन्त्रीको भ्रमणमा कुरा नउठेको भन्दै कांग्रेसले यसप्रति आपत्ति जनाएको छ । कूटनीतिक संवादमार्फत सीमा विवादका विषयलाई निर्णायक रूपमा उठाउने मौका आयो त्यसमा प्रवेश नै नगरी फर्किनुले प्रधानमन्त्रीको दोहोरो चरित्र उदांगो भएको छ, कांग्रेसले भनेको छ । कांग्रेसले भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकी बाढीपीडित प्रभावित क्षेत्रमा सरकारले हेलचेक्र्याइँ गरिरहेको आरोप लगाएको छ । भोटेकोशी बाढीको तीन महिना बढी समय हुँदा पनि पीडितको पुनर्स्थापनामा सरकारले प्रभावकारी काम गर्न नसकेको कांग्रेसको भनाइ छ । यस्तै, भूमिहीन सुकुम्बासी नागरिकहरूको सम्मानजनक पुनर्स्थापना गर्न कांग्रेसले माग गरेको छ । नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक र आवास अधिकारको संरक्षण राज्यको पहिलो दायित्व हुनुपर्छ, कांग्रेसले भनेको छ । कांग्रेसले हामी तयार छौँ अभियानको अवधारणापत्र स्वीकृत गरेको छ। यस्तै, कांग्रेसले पार्टीको झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न पनि चेतावनी दिएको छ । कांग्रेसको नेतृत्व परिवर्तनको विषय निर्वाचन आयोगमा अद्यावधिक भइसकेको भन्दै झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न कांग्रेसले सचेत गराएको हो। यो आग्रहबीच अनधिकृत गतिविधि सञ्चालन गर्ने गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक विषय प्रचारप्रसार गर्ने व्यक्ति वा समूहलाई विधान तथा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाउने निर्णय यो बैठकले गरेको छ, कांग्रेसले भनेको छ । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय अनुशासन समिति , केन्द्रीय लेखा समिति गठनको अधिकार सभापतिलाई दिएको छ । यस्तै, कांग्रेसले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाएको छ ।


















