बाध्य भएर सरकार र शिक्षकबीचको सम्झौतामा हस्ताक्षर गरेँ : सभापति थापा
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समस्याको समाधान नै नहुने भएपछि सरकार र आन्दोलनकारीबीचको सहमतिपत्रमा आफूले हस्ताक्षर गरेको बताएका छन् । विद्यालय शिक्षा विधेयक, २०८० बारे उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा उनले आफूले हस्ताक्षर नगरेसम्म आन्दोलन नरोकिने भएपछि सही गर्न बाध्य भएको बताएका हुन् । अब त्यहाँ गएर म सही नगरेरै आउन खोजेको हो । मैले सही नगरेसम्म त्यो रोकिँदै नरोकिने भएपछि मैले सही गर्न बाध्य भएको हुँ, उनले भने, मैले त्यो विषयमा धेरै आलोचना खेप्नु पनि पर्यो । आफूलाई कसैले जबरजस्ती हस्ताक्षर नगराएको उनले स्पष्ट पारे । नैतिक रूपमा नगरी नहुने वातावरण सिर्जना भएपछि हस्ताक्षर गरेको उनको भनाइ थियो ।
सभापति थापाले सरकार र आन्दोलनकारीबीचको सम्झौतापत्रमा संसदीय प्रणालीविपरीत आफूलाई हस्ताक्षर नगराउन आग्रह गरेको सुनाए । तर, नैतिक दबाबले हस्ताक्षर गर्न बाध्य भएको उनले बताए । सरकार र आन्दोलनकारीबीचको सम्झौता संसद्भित्र प्रवेश गर्नु भनेको कमजोरी थियो । मैले त्यहाँ पनि यही शब्द भनेको थिएँ । संसदीय प्रणालीविपरीत मलाई सही नगराउनुस् भनेको थिएँ । त्यसैलाई जबरजस्ती भन्ने शब्द परेको हो । नत्र मैले जबरजस्ती हात समाएर गराएको भनेको छैन । सरकार र आन्दोलनकारीबीचको सम्झौतापत्रमा हस्ताक्षर गरेपछि समितिभित्र आलोचना भएको उनले उल्लेख गरे । त्यहाँ त्यस्तो किसिमको समस्या समाधान नहुने भएपछि मैले गर्नुपर्ने बाध्यता भएको छ । त्यसो भएको हुनाले म समितिमा आएर आलोचित पनि भएको छु । उपसमितिले पनि भनेको थियो– त्यहाँ गएर सही नगर्नुहोला है ।