आइसिसीले क्रिकेटका नियममा नयाँ परिवर्तन
काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय खेलको दुई बलको नियम र सबै ढाँचामा लागू हुने कन्कसन सब्स्टिच्युट (चोटग्रस्त खेलाडीको विकल्प) सम्बन्धी नियममा प्रस्तावित परिवर्तनलाई अनुमोदन गरेको छ। आइसिसीको पुरुष क्रिकेट समितिले सिफारिस गरेका र प्रमुख कार्यकारी समितिले पारित गरेका यी नयाँ खेल नियमहरू टेस्टमा जुन १७, एकदिवसीयमा जुलाई २ र टी २० मा जुलाई १० देखि लागू हुनेछन्।
एकदिवसीयमा बल प्रयोगको नयाँ नियम
हाल पुरुष एकदिवसीय खेलको एक इनिङ्समा दुईवटा नयाँ बल प्रयोग गरिन्छ, जसमा प्रत्येक छेउबाट एक(एक बलले बलिङ गरिन्छ। संशोधित नियम अनुसार, अब इनिङ्सको सुरुवातदेखि ३४ औं ओभरको अन्त्यसम्म दुईवटा नयाँ बल प्रयोग गरिनेछ। त्यसपछि, ३५ देखि ५० ओभरसम्म बलिङ टोलीले ती दुईमध्ये एउटा बल रोजेर दुवै छेउबाट बलिङ गर्न प्रयोग गर्नेछ। आइसिसीका अनुसार यो परिवर्तनको उद्देश्य ब्याट र बलबीचको सन्तुलन पुनः मिलाउनुु हो। यदि पहिलो इनिङ्स सुरु हुनुअघि नै खेल प्रतिसाइड २५ ओभर वा सोभन्दा कममा घटाइयो भने, बलिङ टोलीले पूरै इनिङ्सका लागि एउटा मात्र नयाँ बल प्रयोग गर्न पाउनेछ।
कन्कसन सब्स्टिच्युट सम्बन्धी नयाँ नियम
नयाँ कन्कसन नियम अनुसार,टोलीहरूले खेल सुरु हुनुअघि नै म्याच रेफ्रीलाई निम्न भूमिकाहरू अनुसार आफ्ना सब्स्टिच्युट खेलाडीहरूको सूची बुझाउनु पर्नेछ :
• एक विकेटकिपर
• एक ब्याटर
• एक सिम बलर
• एक स्पिन बलर
• एक अलराउन्डर
यो वर्षको जनवरीमा भारतले इंग्ल्यान्डविरुद्धको चौथो टी २० खेलमा ब्याटिङ अलराउन्डर शिवम दुबेको स्थानमा बलिङ अलराउन्डर हर्षित रानालाई कन्कसन सब्स्टिच्युटको रूपमा मैदानमा उतारेको थियो। रानाले उक्त खेलमा ३३ रन दिएर ३ विकेट लिएका थिए र उनलाई स्वीकृति दिने म्याच रेफ्रीको निर्णयमाथि त्यतिबेला व्यापक बहस भएको थियो। यसरी विशेष भूमिकाका लागि खेलाडीहरूको नाम पहिले नै तोक्दा यस्ता विवादित अवस्थाहरूलाई रोक्न मद्दत पुग्नेछ। यदि प्रतिस्थापन खेलाडीलाई पनि कन्कसन भयो र उसलाई पनि बदल्नुपर्ने अवस्था आएमा, म्याच रेफ्रीले हालको लाइक-फर-लाइकु (उस्तैको बदला उस्तै) नियम अनुसार सूचीमा नभएका पाँच खेलाडीभन्दा बाहिरबाट अर्को खेलाडी छनोट गर्नेछन्।
क्याचको नियममा पनि परिवर्तन
यसका साथै, क्याच सम्बन्धी खेल नियममा पनि सामान्य परिवर्तन गरिएको छ, जसमा एमसीसी ले बाउन्ड्री बाहिरबाट गरिने ‘बनी हप’ क्याचलाई अमान्य ठहर गरेको छ।