तारकेश्वर नगरपालिकामा ६ करोडमा बनेको ‘वनजङ्गल एडभेञ्चर’

काठमाडौं । काठमाडौं उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका ३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो । पर्यटनमा पछिल्लो साहसिक पर्यटनमा रूचि राख्नेको आगमन बढ्दै गएको छ । यहाँ जिपलाइन, रकक्लाइमिङ र बञ्जीजम्प गर्न उपत्यका बाहिरका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् । योसँगै काठमाडौंमा बसोबास गरिरहेकाले साहसिक पर्यटनका लागि टाढाटाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ । काठमाडौंकै रिङरोडभित्र बसोबास गर्नेका लागि साहसिक गन्तव्य काठमाडौं रिङरोड बाइपासबाट १० किलोमिटरभित्र ककनी राजमार्गमा पर्ने पाँचमाने स्थित ‘वनजङ्गल एडभेञ्चर’ बनेको छ । यहाँ पुगेपछि प्रकृतिको आनन्द र हरियाली वातावरणमा स्वच्छ हावा पनि लिन सक्नेछन् । ८ महिनादेखि काठमाडौंभित्र रहेका र साहसिक पर्यटनमा रूचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रकृतिसँगै नजिक राखेर सेवा दिँदै आइएको वनजङ्गल एडभेञ्चरका सञ्चालक एलिसा ढकालले बताइन् । उनले काठमाडौंमा बसोबास गरिरहेकालाई प्रकृति र साहसिक पर्यटनप्रति रूचि बढाउन एडभेञ्चर सञ्चालन गरिएको धारणा राखे । हिजोआज साहसिक पर्यटनको ‘प्याकेज’ बनाएर आउनेको सङ्ख्या बढिरहेको भन्दै उनले एडभेञ्चरले काठमाडौंभित्रका पर्यटकलाई लक्षित गरेर यो व्यवसाय सञ्चालन गरिरहेको बताए । काठमाडौंका मानिस यहाँ आउँदा समयको बचत र जङ्गलभित्र सबै एडभेञ्चरको फरक महसुस गर्न पाउने भएकाले सेवाग्राहीको सङ्ख्या बढ्दै गइरहेको ढकालले बताए । उनका अनुसार ३० रोपनीमा फैलिएको वनजङ्गलमा सेवाग्राहीले जिपलाइन, रोलर कोस्टर, क्लाइमिङ वाल, अब्स्टयाक्ल कोर्ष, हाइरोप कोर्ष, किड्स एडभेञ्चर्स कोर्ष जिपलाइन ट्रिपटप एडभेञ्चर र जाइन्ट स्वीङको अनुभव लिन पाउनेछन् । साहसिक पर्यटनका लागि नेपालमा पहिलोपटक रोलर कोस्टरको अनुभव लिन पाउने सञ्चालक ढकालले जानकारी दिए । फलाममा चक्का राखी बाँधेर छोड्ने गरिन्छ । पर्यटकले एक मिनेटसम्म फलामको डण्डामा घुमेर मनोरञ्जन लिन सक्नेछन् । पर्यटकले टेन्ट र मौलिक नेपाली घरमा बसेर फरक अनुभूति गर्न सक्छन् । एडभेञ्चरमा ११ टेन्ट र एक मौलिक घर रहेको छ । मौलिकताको जगेर्ना गर्दै वनजङ्गल एडभेञ्चरले मौलिक घरमा ढिकी, जाँतो, हलो तथा कृषकले प्रयोग गर्ने सामग्री देख्न पाइन्छ । शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भीडभाड हुने गर्दछ । भारतीय अक्सो कन्सल्टेन्सीले एक वर्षको अवधिमा पूर्वाधार निर्माण गरेको र सबै पूर्वाधार पूर्ण रुपमा इञ्जिनिरियङ गरेर बनाइएको सञ्चालक ढकालले बताए । ‘वनजङ्गल एडभेञ्चरको विशेषता भनेको साहसिक पर्यटन हो । यहाँ भएका अधिकांश खेल खेलाउन पर्यटन विभागबाट अनुमति लिएका छौँ,’ उनले भने, ‘साहसिक खेलमा सहभागी प्रत्येक खेलाडीको बिमा गरिएको छ ।’ जङ्गलको बीचमा कूल ६ करोड रुपैयाँ लागतमा आफ्नै जग्गामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको ढकालले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *