हिंसात्मक प्रदर्शनपछि फ्रान्सका राष्ट्रपतिले गरे राष्ट्रका नाममा सम्बोधन

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशभर फैलिएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोडप्रति आक्रोश र लज्जा व्यक्त गर्दै गणतन्त्रलाई नै ढाल्ने प्रयास गर्ने हिंसात्मक प्रदर्शनकारीले आफ्ना अपराधको सजाय भोग्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै म्याक्रोनले शनिबार फ्रान्सका विभिन्न शहरमा भएका हिंसात्मक घटनाप्रति कडा असन्तुष्टि जनाएका हुन् । शनिबारको हिंसा पछिल्ला केही वर्षयताकै सबैभन्दा गम्भीर शहरी अशान्तिमध्ये एक भएको बताइएको छ । फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार मात्रै करिब २ हजार ४०० जना पक्राउ परेका छन् । घटनाका क्रममा करिब १ हजार प्रहरी तथा जन्डार्म (सैनिक प्रकृतिको प्रहरी बल) घाइते भएका छन् । म्याक्रोनले जायज माग राखेर प्रदर्शन गर्ने नागरिक र तोडफोड तथा लुटपाटमा संलग्न व्यक्तिबीच स्पष्ट भिन्नता गर्नुपर्नेमा जोड दिएका छन् । ‘जायज माग राख्ने प्रदर्शनकारी र ध्वंस, तोडफोड तथा लुटपाट गर्नेहरूलाई एउटै रूपमा हेर्नु हुँदैन,’ उनले भने । राष्ट्रपति म्याक्रोनले हिंसाबाट प्रभावित व्यक्तिलाई तत्काल सहायता उपलब्ध गराउन ‘संकट व्यवस्थापन इकाइ’ गठन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले कठिन परिस्थितिबाट गुज्रिरहेका नागरिकलाई तत्काल सहयोग उपलब्ध गराइने बताए । यस सप्ताहान्तमा भएको व्यापक हिंसाबाट पाठ सिक्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने पनि उनले बताएका छन् । ‘हामीले स्पष्ट हुनुपर्छ– हिजो विभिन्न शहरमा हाम्रा सुरक्षाकर्मी र सरकारी अधिकारीहरू आफ्नो व्यावसायिक दक्षताका बाबजुद अभूतपूर्व हिंसाको सिकार भए,’ म्याक्रोनले भने । उनले सरकारलाई घटनाबाट सिक्नुपर्ने पाठ पहिचान गर्न र भविष्यमा यस्ता अवस्था आउन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको बताए । ‘हामीलाई एकता चाहिन्छ, शान्ति चाहिन्छ र एकअर्काप्रति सम्मान चाहिन्छ,’ उनले भने ।
आगामी राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै राजनीतिक आरोपप्रत्यारोप
फ्रान्समा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनअघि जनसमर्थन जुटाउन प्रतिस्पर्धा गरिरहेका राजनीतिक दलहरूका लागि पछिल्लो हिंसात्मक प्रदर्शन राजनीतिक विवादको विषय बनेको छ । वामपन्थी राष्ट्रपतीय उम्मेदवार जाँ–लुक मेलँसोनले प्रदर्शनका क्रममा भएको विनाशका लागि फ्रान्सेली सरकारलाई पूर्ण रूपमा जिम्मेवार ठहर गरेका छन् । उनले सरकारले सार्वजनिक व्यवस्था कायम गर्न आवश्यक व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् । त्यस्तै, दक्षिणपन्थी धारका राष्ट्रपतीय आकांक्षी जोर्डन बार्देलाले म्याक्रोनको आइतबारको सम्बोधनलाई ‘दयनीय’ र ‘कायरतापूर्ण’ भन्दै आलोचना गरेका छन् । बार्देलाका अनुसार फ्रान्सेली जनतालाई दिन सरकारसँग अब कुनै ठोस विकल्प बाँकी छैन, र उसले नागरिकको सुरक्षा गर्नसमेत नसकेको आरोप उनले लगाएका छन् । देशभर फैलिएको हिंसापछि सरकारको सुरक्षा व्यवस्थापन, नागरिकको असन्तुष्टि र राजनीतिक नेतृत्वको भूमिकाबारे फ्रान्समा बहस तीव्र बन्दै गएको छ । आगामी निर्वाचनको सन्दर्भमा यस घटनाक्रमले राजनीतिक दलहरूबीचको प्रतिस्पर्धालाई थप प्रभाव पार्न सक्ने देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *