चैते धानको उत्पादन दोब्बर बढेपछि बिक्री वितरणमा समस्या

काठमाडौं। चैते धानको उत्पादन दोब्बर बढेपछि बिक्री वितरणमा समस्या देखिएको छ ।

मागभन्दा आपूर्ति बढी हुँदा बजारमा मूल्य घटेको र किसानको लगानीसमेत उठ्न नसकेको गुनासो उठेको छ । गत वर्ष करिब दुई लाख मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष करिब चार लाख मेट्रिकटन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार गत वर्षको राम्रो आम्दानीपछि किसानले यस वर्ष उत्पादन बढाए पनि बजार व्यवस्थापन नहुँदा समस्या आएको हो ।

हाल बजारमा चैते धान प्रतिक्विन्टल रू १,८०० मा सामान्य रूपमा बिक्री भइरहेको छ । गत वर्ष सरकारले प्रतिक्विन्टल रू २,८०८ समर्थन मूल्य तोकेकोमा चालु आर्थिक वर्षका लागि रू २,८५८ समर्थन मूल्य निर्धारण गरिएको छ । कृषि मन्त्रालयले उद्योग मन्त्रालयमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई समर्थन मूल्यमा धान खरिद गर्न पत्राचार गरिसकेको छ । आवश्यकता अनुसार अर्थ मन्त्रालयमार्फत रकम उपलब्ध गराउने तयारी गरिएको छ ।

तराई तथा भित्री मधेसका करिब ३५ जिल्लामा एक लाख ३० हजार हेक्टरमा धानखेती गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *