उपनिर्वाचनको मिति तोक्ने तयारी, मतदाता नाम दर्तामा अन्तिम अपिल
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहका रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी थालेको छ।
यसका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई तुरुन्तै नाम दर्ता गराउन अपिल गरेको छ । निर्वाचनको मिति घोषणा भएपश्चात् मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्न नपाइने भएकाले यो अपिल जारी गरिएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले भने, “निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने काम रोकिने भएकाले इच्छुक नागरिकहरूले छिटो नाम दर्ता गराउन आग्रह गरिएको छ।”
आयोगले गत असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिसकेको छ भने कात्तिकको दोस्रो साता उपनिर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताइएको छ। प्रतिनिधिसभा रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १९२० रिक्त रहेका छन्। रुपन्देही ३ मा राप्रपाका दीपक बोहोराको निधनपछि पद रिक्त भएको हो भने मनाङमा दीपक मनाङेको पद त्यागपछि रिक्तता आएको छ । साथै स्थानीय तहमा १३ वटा वडा अध्यक्षको पद रिक्त रहेको आयोगले प्रधानमन्त्रीलाई जानकारी गराएको छ।