१२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ
काठमाडौँ । श्रमदान गर्न आएका बेला १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राई पक्राउ परेका छन् ।
धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान–१६ मा भएको श्रमदानका बेला बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पीडितका परिवारले राईविरुद्ध किटानी जाहेरी दिएका छन् । किटानी जाहेरीपछि धरान–१७ पृथ्वीचोकका राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले बताएका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका राई श्रमदातालाई खाना पकाउने काममा खटिएका थिए । बालिका आफ्नी आमासँग श्रमदानमा आएकी थिइन् । त्यही क्रममा राईले बालिकालाई फकाएर खोल्सातिर लगी हातपात गर्न खोजेको आरोप लागेको छ ।