‘जेनजी पुस्ता’ का फेवरेट सज्जनको ‘बेहुली’ दिव्या
काठमाडौँ । गायक सज्जन राज वैद्यको नयाँ गीत ‘बेहुली’ हिजो (शनिवार) सार्वजनिक भयो । सार्वजनिक हुनु पहिले देखिँदै छायाङ्कन सेटका टुक्राहरू (किल्प्स) ले सामाजिक सञ्जाल तताइरहेका बेला हिजो सार्वजनिक म्युजिक भिडियोले त झनै माहौल बेग्लै बनाएको छ ।
हिजो (शनिवार) सार्वजनिक गीत सार्वजनिक भएको केही घण्टामै ट्रे डिङमा पर्न सफल भएको थियो भने हाल ट्रे डिङको शीर्ष स्थान नजिक रहेको छ ।
सज्जनको बेहुली हेर्नुहोस्
यस गीत र भिडियोको कुरा गर्दा यस गीतलाई वैद्य आफैँले लेखेका हुन् भने सङ्गीत र स्वर उनकै रहेको छ । गीतमा भएका शब्द तथा सङ्गीतले गीतलाई निकै आकर्षक बनाएको छ । साथै यस गीत सुन्दा उनको यसअघिका हिट गीतहरू सस्तो मुटु, ह्यातेरी को फ्लेभर आउँछ ।
सार्वजनिक ‘बेहुली’ को म्युजिक भिडियो निक्कै आकर्षक बनेको देखिन्छ । यस गीतको भिडियोमा मुख्य कलाकारको रूपमा गायक सज्जन राज वैद्य र दिव्या रायमाझी फिचर्ड छन् । भिडियोमा शशांक बोहरा, ऋषिकेश बस्याल, श्रीशेष मानन्धर, सरिता मानन्धर, देव नारायण भण्डारी, हुमा देवी भण्डारी, घनश्याम जोशी र सञ्जीव तामाङले सहायक कलाकारको रूपमा अभिनय गरेका छन् । यो भिडियोको निर्देशन र छायाङ्कन नयन राईले गरेका हुन् ।
दिव्या रायमाझी
दिव्या अहिलेकी व्यस्त फिल्म एक्टर हुन् । अमेरिकाबाट फिल्ममा अभिनय गर्न फर्किएकी उनी नेपालमा फिल्म, सङ्गीत र विज्ञापनमा सक्रिय छिन् । नेपाल आउनुअघि उनी एक अमेरिकी प्रविधि कम्पनीमा इन्टर्नको रूपमा कार्यरत थिइन् । उनी अभिनेता दिलीप रायमाझीकी छोरी समेत हुन् । तपाईँ दिलीप रायमाझीकै छोरीको रूपमा चिनिन चाहनुहुन्छ कि आफ्नै पहिचान बनाउन चाहनुहुन्छ ? भनेर पत्रकारले प्रश्न गर्दा ‘दिलीप रायमाझीको छोरी हुनु भनेको सौभाग्यको कुरा भएको र फिल्म गर्दै जाँदा आफ्नै पहिचान र आफ्नै नामले चिनिनु हो ।’ भनेकी थिइन् ।
सज्जन राज वैद्य
त्यसैगरी सज्जन राज वैद्यको कुरा गर्दा वैद्य एक नेपाली गायक, गीतकार, गिटार वादक र रेकर्ड निर्माता हुन् । वैद्य अमेरिकामा बस्दै आइरहेका छन् भने उनले सन् २०१४ मा आफ्नो पहिलो गीत ‘आज मात्र’ निकालेका थिए । सन् २०१६ मा हवाईजहाज २०१८ मा चिठीभित्र निकालेपछि प्रख्यात भएका वैद्य पछिल्लो समय युवा पुस्ताका निकै लोकप्रिय गायक हुन् । अझ भनौँ वैद्य पछिल्लो पुस्ताका फेवरेट कलाकार हुन् । वैद्यले आफ्नो गायन शैलीले ‘जेनजी पुस्ता’मा विशिष्ट छवि बनाउन सफल भएका छन् ।