सातवटै प्रदेशमा आज वर्षाको सम्भावना
काठमाडौं । देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । यसैबीच, गएराति देशका विभिन्न स्थानमा वर्षा भएको छ । पश्चिम नेपालमा वर्षा भएको हो । अछाम, कञ्चनपुर, जाजरकोट, सल्यान, रकुम पूर्व, कैलालीमा वर्षा भएको विभागले जनाएको छ । केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ ।
अछामको गोपघाट, ओलीगाउँ वर्षामापन केन्द्र र आसपासमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना भएकाले सो क्षेत्र भई बहने ससाना खोलामा आकस्मिक बाढी आउनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर वर्षामापन केन्द्र र आसपासमा मध्यम वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना भएकाले सतर्क रहनुपर्ने विभागले जनाएको छ । जाजरकोटको डल्ली, रुकुम पूर्वको रुकुमकोट, सल्यानको काभ्रेनेटा र आसपासका वर्षामापन केन्द्रहरुमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ । थप बर्षा हुने सम्भावना भएको विभागले बताएको छ । कैलाली बचिला वर्षामापन केन्द्र र आसपासका केन्द्रहरुमा मध्यम वर्षा मापन भएको छ । थप वर्षा हुने भएकाले सो क्षेत्र भइ बहने साना खोलामा आकस्मिक बहावको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।