लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ- शेरबहादुर देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
काठमाडौँमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने देउवाले बताए । उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि देउवाले उल्लेख गरे । यसका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु जरुरी रहेको उनले बताए । जलविद्युत आयोजनाहरूको आइपिओ निष्कासन रोक्नु गलत भएको भन्दै उनले धितोपत्र बोर्डले चाँडै शेयर निष्कासन गर्ने बताए । ऊर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पत्ति भएको पनि देउवाले बताए ।
सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताए । यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्ने उनले बताए । निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुसीको कुरा भएको उल्लेख गर्दै उनले देशभित्र लोडसेडिङ नरहेको बताए ।