अमेरिकाबाट थप १९ जना नेपाली निष्कासित
काठमाडौं । अमेरिकाबाट थप १९ जना नेपाली निष्कासित भएका छन् ।
२५ जेठमा ३७ जना नेपाली डिपोर्ट भएर आएयता हालसम्म १९ जना नेपाली डिपोर्ट भएर आएका हुन् । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जेठ २७ यता दैनिकजसो एक–दुई जना नेपाली डिपोर्ट भएर आइरहेको जानकारी दिए । उनका अनुसार ३७ जनालाई अमेरिकाले चार्टर्ड विमानमै काठमाडौं ल्याएर छाडेपनि अहिले नियमितजसो एक–दुई जना नेपाली नियमित उडानमार्फत आइरहेका छन् ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले कडा अध्यागमन नीति अख्तियार गरेको थियो ।त्यसपछि सामान्य कसुरमा पक्राउ परेका केही व्यक्ति पनि डिपोर्ट भएका छन् । नेपाल आएका अधिकांश चाहिँ तल्लो बाटो (डंकी रुट) हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरु छन् । विभागका अनुसार, ट्रम्प निर्वाचित भएयता मात्र अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १९७ पुगिसकेको छ ।