भ्रष्टाचारको छानबिन गर्न माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र
काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ ।
राप्रपाले सबै प्रकारका भ्रष्टाचारहरूको छानबिन र राजनीतिक नेतृत्व समेतलाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको हो । राप्रपाले २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र उनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माग गर्दै उजुरी दिएको हो । ‘नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको छ । आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी, मुद्दाको सङ्ख्या र दाबी रकम बढ्दै गएको अवस्थाले यसको पुष्टि हुन्छ’ ज्ञापनपत्रमा उल्लेख छ ।
असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
