रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेको बताएका छन् ।
जेलेन्स्कीले गत महिनादेखि रुस र युक्रेनबीचको वार्ता रोकिएको अवस्थामा नयाँ प्रस्ताव गरेको बताएका हुन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वरिष्ठ सुरक्षा अधिकारी रुस्तम उमरोभले अर्को हप्ता रुसी पक्षलाई भेट्ने प्रस्ताव गरेको बताएका छन् । जेलेन्स्कीले युद्धविरामको लागि हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।
उनले फेरि एकपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमनेसामने भेटघाट गर्नुपर्ने कुरा दोहोर्याएका छन् । जेलेन्स्कीले भने- ‘शान्ति सुनिश्चित गर्न नेतृत्व स्तरमा बैठक आवश्यक छ ।’ हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार प्रदान गर्ने योजनाको घोषणा ५० दिनमा युद्धविराम भएन भने रुसमा भारी कर (शुल्क) लगाइने चेतावनी दिएका छन् । जेलेन्स्कीको प्रस्ताव बारे रुसको प्रतिक्रिया भने आएको छैन ।