कहिले आउँछ सामसुङको ट्राइफोल्ड स्मार्टफोन ?
स्मार्टफोन निर्माता कम्पनी सामसुङले आफ्ना नयाँ फोल्डिङ फोनहरु हलै लञ्च गरेको छ । योसँगै अब स्मार्टफोन प्रयोगकर्तालाई सामसुङको ल्याउने भनेको आफ्नो पहिलो ट्राइ फोल्ड (दुई पटक पट्याउन मिल्ने) फोनको व्यग्र प्रतीक्षा सुरु भएको छ । समाचार अनुसार सामसुङको ट्राइफोल्ड स्मार्टफोन यहीँ वर्ष सन् २०२५ को अन्त्यसम्ममा अर्थात् सम्भवतः अक्टोबरमा सार्वजनिक हुन सक्ने प्रविधिसम्बन्धी सूचना प्रवाह गर्ने Ice Universeले चिनियाँ सामाजिक सञ्जाल विबोमार्फत् जानकारी गराएका छन् । यसअघि सामसुङले ग्यालेक्सी जेड फोल्डको नामबाट आफ्नो पहिलो ट्राइफोल्ड फोन बजारमा ल्याउने बताइएको थियो । तर, पछिल्लो रिपोर्टमा सामसुङको पहिलो ट्राइफोल्ड फोनको नाम ग्यालेक्सी जेड ट्राइफोल्ड हुने बताइएको छ । यसबाट सामसुङले आफ्नो आगामी ट्राइफोल्ड फोनलाई जेड सिरिजमा जोड्न चाहेको देखिएको छ । स्मरण रहोस् यसअघि सामसुङका सबै फोल्डेबल तथा फ्लिप फोनहरु सबै जेड सिरिजकै हिस्सा रहेका छन् । एक नयाँ जानकारी अनुसार उक्त स्मार्टफोनमा पूरा अलफोल्ड गर्दा ९.९६ इन्चको डिस्प्ले हुनेछ । साथै फोल्ड गर्दा यसको स्क्रिनको आकार ६.५४ इन्चको हुनेछ । उक्त फोन स्नापड्रागन ८ एलिट प्रोसेसरका साथमा लन्च हुने बताइएको छ र यसमा सिलिकन कार्बन ब्याट्री रहनेछ । सामसुङले यस ट्राईफोल्ड फोनको पछाडिको भागमा ट्रिपल क्यामेरा राख्नेछ, जसले ८के भिडियो रेकर्ड गर्नेछ । सामसुङ मोबाइल कम्पनीका प्रमुख टिएम रोहले हालैमात्र यो वर्षको अन्त्यसम्ममा कम्पनीले आफ्नो ट्राइफोल्ड स्मार्टफोन लञ्च गर्ने योजना बनाइरहेको खुलासा गरेका थिए । उक्त डिभाइसको कोड नाम क्यू७एम रहेको छ, जुन आम उत्पादनका लागि तयार छ । सामसुङको उक्त ट्राइफोल्ड फोनले हुवाबेको मेट एक्सटी अल्टिमेट फोनसँग प्रतिस्पर्धा गर्नेछ । सो फोन हाल बजारमा रहेको एकमात्र ट्राइफोल्ड फोन हो ।