“राष्ट्राध्यक्ष भइसकेको व्यक्ति राजनीतिमा फर्किनु संविधानको मर्मविपरीत”
काठमाडौं । नेकपा एमालेले मुलुकको राष्ट्राध्यक्ष भइसकेको व्यक्ति अवकाशपछि राजनीतिमा फर्किनु संविधानले परिकल्पना नगरेको जिकिर गरेको छ ।
पार्टीको आठौं केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र राजनीतिक सक्रियताबारे लामो व्याख्या गर्दै यो कदम राजनीतिक मान्यताविपरीत रहेको बताएको छ। पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “संवैधानिक राष्ट्राध्यक्षको व्यवस्था रहेको हाम्रो लोकतान्त्रिक प्रणाली कार्यकारी प्रमुखका रूपमा राष्ट्रपति रहने मुलुकको प्रबन्धभन्दा भिन्न छ। यस्तो गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा र अवकाशपछि पनि दलीय आबद्धतामा फर्किनु नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन ।”
विज्ञप्तिमा नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक, संविधानको संरक्षक, पालक र नेपाली सेनाको परमाधिपतिको गुरुत्वपूर्ण जिम्मेवारी सुम्पिएको उल्लेख छ। यस्तो कदमले राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा गरेका कामहरू विवादित हुन सक्नेतर्फ पनि सचेत गराएको छ। एमालेले पूर्वराष्ट्रपति भण्डारीको योगदानको प्रशंसा गर्दै उनलाई नेपाली राजनीतिमा सम्मानित व्यक्तित्व र लैङ्गिक समानता तथा समावेशिताको ‘आइकन’का रूपमा उल्लेख गरेको छ।

















