डिभोर्सपछि एक महिनासम्म बियरमात्रै पिए

थाइल्याण्डको रायोङमा हालै ४४ वर्षका एकजना व्यक्तिको मृत्यु भयो । यद्यपि कुनै अमूक सहरमा कुनै एकजना साधारण व्यक्तिको मृत्यु हुने कुरा खासै चर्चा र समाचारको विषय होइन । तर ती व्यक्तिको मृत्यु चाहिँ चर्चाको विषय बन्यो र मिडियाहरुमा हेडलाइन बन्यो । किनकि उनले एक महिनाभन्दा बढी समयसम्म खाने कुरा नै नखाई केवल बियर मात्र पिएर जीवन बिताइरहेका थिए । मृतक पुरुषको शव फेला पर्दा उनको वरिपरि सयभन्दा बढी बियरका खाली बोतलहरू थिए । गत हप्ता थाइल्याण्डको रायोङ प्रान्तको बान चाङ जिल्लामा एक व्यक्तिको उद्धारका लागि सियाम रायोङ फाउन्डेशनका उद्धारकर्मीहरूलाई बोलाइएको थियो । समाचार अनुसार ती व्यक्तिलाई हृदयाघात भएको थियो र उनी बेहोस भएका थिए । तर, विडम्बना, उद्धारकर्मीहरू त्यहाँ पुगिसक्दा उनको मृत्यु भइसकेको रहेछ । त्यसरी मृत्यु हुने व्यक्तिको नाम थावीसाक नाम्वोङ्सा हो । पत्नीसँग सम्बन्ध विच्छेद गरेका ती पुरुषक एक १६ वर्षका छोरासँगै बस्दै आएका थिए । उनका छोराका अनुसार थावीसाकले विगत एक महिनाभन्दा बढी समयदेखि केवल बियर मात्रै पिउँदै आएका थिए। एक दिन स्कुलबाट फर्किंदा छोराले उनलाई ओछ्यानमा बेहोस अवस्थामा र वरिपरि थुप्रै खाली बियरका बोतलहरू सहित फेला पारे । उद्धारकर्मीहरू घटनास्थलमा पुग्दा ओछ्यानको भुईंमा १०० भन्दा बढी बियरका खाली बोतलहरू मिलाएर राखिएको अवस्थामा देखिए । बियरका बोतलहरू भुईंमा यत्रतत्र थिए र बीचबाट ओछ्यानसम्म जान र निस्कन सक्ने गरी साँघुरो बाटो मात्रै छोडिएको थियो । मृतकका छोराले प्रहरीलाई बताएअनुसार उनले हरेक दिन स्कुलबाट फर्किएपछि बुवाका लागि खाना पकाउँथे । तर, बुवाले केही पनि खान मान्दैनथे । उनले एक महिनाभन्दा बढी समयदेखि केवल बियर मात्रै पिएर बाँचेका थिए । थावीसाक नाम्वोङ्सालाई कुनै गम्भीर स्वास्थ्य समस्या भएको उनका छोरालाई थाहा थिएन । यद्यपि पत्नीसँगको डिभोर्सपछि नाम्वोङ्सा मानसिक तनावमा परेका थिए र सोही कारणले गर्दा बुवाले बियर पिउन थालेको छोराले बताएका थिए । वास्तवमा बियरमा क्यालोरी धेरै भए पनि यसमा शरीरलाई चाहिने आवश्यक पोषक तत्वहरू हुँदैन । त्यसैले बियरलाई खानाको विकल्प बनाउनु स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हुन्छ। यसले शरीरमा पोषणको कमी, कलेजोको क्षति लगायत गम्भीर समस्या ल्याउन सक्छ, किनभने बियरमा अल्कोहोलको मात्रा पनि हुन्छ । स्वास्थ्य विज्ञहरू केवल सीमित मात्रामा बियर सेवन गर्नुपर्ने सुझाव दिन्छन् । यद्यपि कतिपय देशमा केही मानिसहरू विशेषगरी इसाइ धर्मको लेन्ट नामक पर्वभन्दा अगाडि पूरै एक महिनासम्म केवल बियर मात्रै पिएर बस्ने गरेको समेत सुनिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *