विभाजनको डिलमा माओवादी

काठमाडौ । नेकपा एमाले पछि आन्तरिक द्वन्द्वमा फस्ने पालो माओवादी केन्द्रको आएको छ । हत्या हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिको बाटोमा हिडन थालेपछि नै अन्तद्धन्द्धको चपेटामा फसेको माओवादी अहिले पुनः गंभिर विवादमा परेको छ । ठुलो द्वन्द्वपछि एकाएक शान्तिपूर्ण बाटोमा आउँदा बेहोर्नुपर्ने क्षतिले निक्कै कम असर गरेको माओवादीमा बिस्तारै अनेक खालका विकृति र विचलन देखा परे । त्यो स्वाभाविकै थियो ।

हतियारको तालिम लिएका साना हतियार साथमा भएका र काम केही नभएकाले र तिनले त्यसको भरपुर दुरुपयोग गर्न सक्थे । तर तुलनात्मक रूपले त्यसको कमै प्रयोग गरे पनि हतियार बोकेका कार्यकर्तामा असन्तुष्टि भने चरम चुलीमा पुग्यो । लडाकु र राजनीतिक कार्यकर्ताको कुनै भेद नरहेको माओवादीमा खुला राजनीतिमा आएपछि बिस्तारै त्यसमा पनि भेद गर्न थालियो । अनपढ, निरक्षर कार्यकर्तालाई राजनीतिमा ल्याउन र जिम्मेवारी दिन सम्भव नभएपछि तिनलाई पार्टीले बिस्तारै परित्याग ग¥यो । त्यसरी परित्याग गरिएका लडाकुहरू अहिले नर्कको जीवन बाचिरहेका छन् । आफूसँग भएका सेना र हतियार सरकारलाई बुझाएपछि माओवादीभित्र तीव्र द्वन्द्व चर्कियो । र, पार्टी नेतृत्वको कदम प्रति असहमति राख्ने पक्षले पार्टीलाई विभाजित गरायो । मोहन वैद्यको नेतृत्वमा भएको विभाजनले माओवादीलाई झन्डै समाप्तै गरायो । तर वैद्यले त्यो जमातलाई नेतृत्व दिन सकेनन् र त्यसबाट एउटा समूह रामबहादुर थापाको नेतृत्वमा पुनः प्रचण्डकै माओवादीमा फर्कियो भने अर्को समूह नेत्रविक्रम चन्दको नेतृत्वमा पुनः हतियार उठाउने गरी भूमिगत गतिविधिमा लाग्यो । अहिले बाबुराम भट्टराई समेत कम्युनिस्ट आन्दोलनप्रति अविश्वास गरेर पुँजीवादी दुनियाँमा फर्कने बाहेक नै माओवादीबाट चोइटिएर बनेका साना ठुला समूह दर्जनौँको सङ्ख्यामा छन् ।

प्रचण्ड, वैद्य र चन्दले त आफ्नो हैसियत अनुसारका ठुलै आकारका समूहलाई नेतृत्व गरिरहेका छन् । आफुलाई माओवादी हिंसाको मुलप्रवाह ठान्ने पुष्पकमल दाहाल प्रचण्ड यति वेला संसद्मा प्रमुख प्रतिपक्ष दलको भूमिकामा छन् । कुनै वेला झन्डै सांसदलाई कब्जा नै गरेको माओवादी अहिले तीस एकतीस जना सांसदमा चित्तवुझाएर बसेको छ । त्यो पनि नेपाली काँग्रेस, बाबुराम महेन्द्र राय समूह आदिसँग गठबन्धन गरेर मात्र हासिल गरेको हो । यसरी खिइँदै खिइँदै सियोको आकारमा पुगेर पनि आन्तरिक विवाद, अन्तरद्धन्द्ध र झगडामा भने माओवादी अग्रिम मोर्चामा नै खडा छ । सरकारी सुविधाले ऐयाशी जीवन यापन गरिरहेका माओवादीहरू अब पार्टीलाई कसरी कब्जा गर्ने भन्नेमा लागेका छन् । छत्तिस वर्षदेखि पार्टीमा एकछत्र नेतृत्व गरेका प्रचण्डलाई एकाध वर्षदेखि पार्टीभित्र चुनौतीको सामना गर्नु परिरहेको छ । हुन त द्धन्द्धकालमै पनि सानातिना अवरोध आएकै थिए । तिनलाई प्रचण्डले सजिलै पन्छाएका थिए । भरत दाहाल, रवीन्द्र श्रेष्ठहरुलाई पन्छाए झैँ वैद्य, विप्लव र बाबुरामहरूलाई पन्छाउन सहज भएन । त्यस बेलाको विभाजनले त माओवादीलाई अस्तित्व बचाउन समेत धौधौ भएको थियो । विगतका विभाजनबाट बिस्तारै तंरिन लागेको माओवादीमा अहिले अर्को सङ्कट आएको छ । अपारदर्शी, निरङ्कुश र कठोर अधिनायकवादी शैलीबाट चल्ने माओवादीमा अहिले सार्वजनिक रूपले नै नेतृत्वको विरोध र भन्डाफोड हुन थालेको छ । अहिले प्रचण्डको अकण्टक भनिने नेतृत्वलाई चुनौती दिनेमा पार्टीकै उपमहासचिव जनार्दन शर्मा देखिएका छन् । अघिल्लो महाधिवेशनमा महासचिवको आकाङ्क्षी रहेका शर्मालाई पन्छाएर आफ्ना आर्थिक साझेदार वर्षमान पुनलाई महासचिव बनाउन चाहन्थे प्रचण्ड । तर अधिवेशनको वेला बिरामी भएर विदेशमा उपचार गरिरहेका पुनलाई उनले महासचिव बनाउन सकेनन् । प्रचण्डले पुनलाई महासचिव बनाउन नसकेपछि शर्मालाई पनि त्यो पद दिएनन् र प्रतिस्पर्धामा नै नरहेका देव गुरुङलाई त्यो पदको भारी बोकाए । त्यही वेलादेखि पार्टीमा विशेष प्रभाव राख्ने शर्मा प्रचण्डदेखि भड्किए । अहिले संसदीय माओवादी समुहमा प्रचण्ड भर्सेज जनार्दनको स्थिति बनेको छ ।

प्रचण्डसँग सार्वजनिक कार्यक्रमहरूमा जुहारी खेल्दै आएका शर्माले पार्टीमा मजबुत पकड कायम राखेको बताइन्छ । पार्टीको विद्यार्थी सङ्गठनको चुनावमा बहुमतमा विजय हासिल गरेर उनले त्यसको स्पष्ट सङ्केत दिइसकेका छन् । केही दिन अघि पार्टी संस्थापक पुष्पलालको स्मृति दिवस कार्यक्रममा पार्टी नेतृत्व भ्रष्ट भएको, अलोकतान्त्रिक, अधिनायकवादी र अपारदर्शी रहेको आरोप लगाएर अहिले माओवादी पंति तरङ्गित भएको छ । कार्यक्रममै प्रचण्ड र जनार्दनले जुहारी खेलेपछि प्रचण्डको पक्षबाट बहसमा पुन खडा भएका छन् । यो बहसपछि उत्पन्न विवादको परिणाम दुःखद पनि हुनसक्छ । वर्षमान समेतका प्रचण्डका विश्वासपात्रहरू शर्मालाई पार्टीबाटै हटाउने षडयन्त्रमा लागेको बताइन्छ । वर्षमानहरू सामाजिक सञ्जालमा शर्मालाई कारबाही गर्नुपर्छ भन्ने बेहाराको प्रचार सामाग्री उत्पादन गर्ने धन्धामा लागेका छन् ।

प्रचण्डले रुकुममै पुगेर मलाई पार्टी छाड भने भनेर सार्वजनिक अभिव्यक्ति दिएका शर्मा पनि माओवादीमा सजिलै पन्छाउन सकिने गरी कमजोर छैनन् । उनलाई पार्टीबाट निकाल्दा ठुलो समूह बाहिरिने वा पार्टी नै फुट्ने स्थिति आउँछ । त्यो स्थितिलाई वेर्हार्न अहिले माओवादी सक्षम छैन । त्यसैले कारबाहीको लागि स्पष्टीकरण लिने कुरा तत्काल कार्यान्वयन भइहाल्ने सम्भावना छैन । यदि, शर्मालाई कारबाही नगर्ने हो भने उनले उठाएका सवाललाई संवोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि भ्रष्टाचारमा लिप्त पार्टी पंक्ति र नेतृत्वमाथि कारवादी गर्नुपर्ने हुन्छ । पार्टीलाई एकल नेतृत्वको अवधारणाबाट सामुहिक नेतृत्व पद्दतिमा लानुपर्ने हुन्छ । सम्भवतः प्रचण्डले जाम गरेर राखेको माओवादीलाई निकास दिन उनले पार्टी अध्यक्षबाट हट्नुपर्ने छ । तर प्रचण्ड अहिले नै त्यसो गर्ने पक्षमा छैनन् ।

प्रचण्ड र उनको परिवार माओवादीलाई आफ्नो निजी सम्पत्ति ठान्छ । प्रचण्ड पत्नी सिता दाहालले मशाल कालमै पार्टीलाई आफ्नै पैतृक सम्पत्ति जस्तो ठान्ने र कार्यकर्तालाई हरुवा चरुवा जस्तो व्यवहार गर्थिन । माओवादी द्वन्द्वमा होमिएपछि त झन् त्यो धारणा प्रबल रूपमा प्रकट भयो । त्यसरी हेर्दा माओवादी अहिले नै यो अवस्थाबाट बाहिर आउने देखिँदैन । भोलिदेखि हुने पार्टी स्थायी समितिको बैठकले शर्मालाई थर्काएर चुप लगाउन कोसिस गरे पनि सङ्गठनात्मक, वैचारिक वा राजनीतिक रूपमा कुनै नयाँ निर्णय गर्ने सम्भावना भने देखिँदैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *