माओवादी स्थायी समिति बैठक भोलि पुनः बस्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आइतबार पुनः बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको आजको बैठकमा १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका छन् । बैठक भोलि पुनः ११ बजेदेखि सुचारु हुने जनाइएको छ । बैठक शुक्रबारदेखि सुरू भएको थियो । बैठकमा आजदेखि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आ आफ्नो धारणा राख्न सुरु गरेका हुन् । अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोध पछिल्लो समय सार्वजनिक रूपमै छताछुल्ल भएको छ ।

यसैबीच आजको बैठकमा नेताहरूले पार्टीभित्र विधि पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन् । बैठकमा धारणा राख्ने नेताहरूले पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउन विधि पद्धति र प्रक्रियालाई कडाइपूर्वक लागू गर्नुपर्ने सुझाव दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । संगठन निर्माण, विकास र विस्तारमा योजना सहित केन्द्रित हुन आवश्यकका साथै शुद्धीकरण र रूपान्तरणका विषय विशेष रूपमा उठेको उनले बताए । सापकोटाले नयाँ बिचार संश्लेषण र बिचारको विकासका लागि बहसको थालनी गर्नुपर्ने विषय बैठकमा उठेको उल्लेख गरे । पार्टीका विषयमा आएका सबै विषयमा सहज ढङ्गले बैठकमा छलफल भएको भन्दै उनले माओवादी पार्टी कुनै हालतमा नफुट्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *