व्यवसायी मल्होत्राले २ अर्ब लगानीमा टोखामा होटलको सुविधासहित अपार्टमेन्ट बनाउँदै
काठमाडौं । घरजग्गा तथा रियल इस्टेट व्यवसायी दिपक मल्होत्राले काठमाडौंको टोखामा होटलको सुविधासहितको अपार्टमेन्ट निर्माण गर्ने भएका छन् । मल्होत्राको आईएमएस ग्रुपको होटल शहंन्शाह इन्टरनेशनल प्रालि कम्पनीमार्फत् टोखामा मिक्स तरिकाले आवासीय अपार्टमेन्ट निर्माण गर्ने भएको हो । कम्पनीले २ अर्ब २ करोड ६० लाख रुपैयाँ लगानीमा होटलसहित अपार्टमेन्ट निर्माण गर्ने भएको हो । कम्पनीले ९० वटा युनिटको आवासीय अपार्टमेन्ट बनाउनेछ । त्यससँगै सोही क्षेत्रमा नयाँ भवनमा २५ वटा कोठाको सुविधासहित होटल निर्माण गर्ने कम्पनीले जनाएको छ ।
सुरुमा कम्पनीले २५ वटा कोठाको होटल निर्माण गर्ने योजना बनाएको थियो । उक्त होटल सिधै सञ्चालनमा ल्याउने योजना कम्पनीको थियो । तर, अहिले कम्पनीले योजना परिवर्तन गर्दै होटलको भवन तेस्रो पक्षलाई लिजमा दिने निर्णय गरेको छ । कम्पनीले सो होटल लिजमा दिई भाडाबाट आम्दानी गर्ने उल्लेख गरेको छ । कम्पनीले अपार्टमेन्ट र होटल २.१३ हेक्टर क्षेत्रफलमा फैलिने जनाएको छ । कम्पनीले हाल भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट अनुमति पाइसकेको छ । यता काठमाडौं उपत्यका विकास प्राधिकरणबाट भने अनुमति पाइसकेको छैन । जसले गर्दा आयोजना निर्माण गर्न ढिला भएको कम्पनीको भनाइ छ । कम्पनीले होटल निर्माणका लागि २ अर्ब २६ करोड ९४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले ६०ः४० को लगानीको अनुपात राखेको छ । कम्पनीअनुसार हालसम्ममा २ अर्ब कर्जा मध्ये १ अर्ब २० करोड रुपैयाँको व्यवस्थापन भइसकेको छ ।
















