कुमारी बैंकको चौथो त्रैमाससम्म २ अर्ब ११ करोड नाफा
काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४५ हजार ८२९ प्रतिशतले वृद्धि भएको छ। गत आवको यही अवधिसम्म बैंकले ४६ लाख ८ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेकोमा हालको त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ६.९५ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी पनि वृद्धि भई यो अवधिसम्म २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो २ अर्ब ९ करोड रुपैयाँ थियो। चौथो त्रैमाससम्म बैंकले ११ अर्ब ३३ करोड रुपैयाँको खुद सञ्चालन आम्दानी आर्जन गरेको छ भने ६ अर्ब १३ करोड रुपैयाँको सञ्चालन मुनाफा कमाएको छ।
यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज (नोक्सानी व्यवस्था) अघिल्लो वर्षको ६ अर्ब ८४ करोड रुपैयाँबाट घटेर २ अर्ब ७६ करोड रुपैयाँमा झरेको छ। बैंकको रिजर्भ कोषमा १३ अर्ब ८५ करोड रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक देखिएको छ। यस अवधिमा बैंकले ३ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।यता खराब कर्जा अनुपात अघिल्लो आवको ५.९६ प्रतिशतबाट बढेर ६.४२ प्रतिशत पुगेको छ । जुन चिन्ताको विषय बन्न सक्छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४२.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.२३ गुणा र तरलता अनुपात ३६.५९ प्रतिशत कायम भएको छ ।