८० करोड लगानीमा खुल्यो पञ्चकन्या डिमेक्स उद्योग सञ्चालनमा
काठमाडौं । नयाँ प्रविधिसहितका यूपीभीसी झ्याल ढोका उत्पादन गर्ने पञ्चकन्या डिमेक्स उद्योग सञ्चालनमा आएको छ । उद्योग सञ्चालनमा आएसँगै यहाँबाट उत्पादन हुने यूपीभीसी झ्यालढोकाहरू देशभरी बिक्री गरिने तयारी गरिएको छ । रुपन्देहीको सियारी गाउँपालिका–२ भग्दरीमा ८० करोड रुपैयाँ लगानीमा उक्त उद्योग सञ्चालनमा आएको हो । उद्योगमा उज्ज्वलकुमार श्रेष्ठ, रितेश सिलवाल र नारायण केसीको लगानी छ । उद्योगको अध्यक्षमा श्रेष्ठ छन् पहिलो चरणमा चारवटा लेमिटेड कलरमा युपीभीसी प्रोफाइल उत्पादन भइरहेका छन् । उपभोक्ताले आफ्नो रोजाइको कलरका यूपीभीसी झ्यालढोका बनाउन अडर दिन सक्नेछन् । नेपालमा यूपीभीसीका झ्यालढोका प्रयोग गर्नेहरू बढ्दै गएकाले आवश्यकतालाई पुरा गर्न सहुलीयत मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको अध्यक्ष उज्ज्वलकुमार श्रेष्ठले बताए । अहिले उद्योगले जर्मन स्ट्याण्र्डमा झ्यालढोका उत्पादन गरिरहेको छ ।
यस उद्योगबाट उत्पादन हुने झ्यालढोका वातावरणमैत्री रहेको श्रेष्ठ बताउँछन् । आफ्ना उत्पादनहरू दिगो, वाटरप्रुफ, आगो प्रतिरोधी, मर्मतमा कम खर्च लाग्ने, नखुइलिने र बाहिरी हल्ला नसुनिने भएको उनी बताउँछन् । यसका साथै ग्राहकको इच्छाअनुसार डिजाइन गर्न सकिने, पुनः प्रयोग गर्न सकिने, सफाइका लागि सहज र पर्यावरणमैत्री भएको पनि उनी बताउँछन् । नेपाली बजारमा आयातित यूपीभीसी झ्यालढोकाले बजार ओगटेकाले नेपाली उत्पादन सहुलीयत मूल्यमा उपलब्ध गराउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको श्रेष्ठ बताउँछन् । ढोका बलियो बनाउन यूपीभीसीका प्रोफाइलभित्र ग्याल्बोनाइज्ड फलाम प्रयोग गरिएको उनको भनाइ छ ।आयातित यूपीभीसीका झ्याल ढोकाभन्दा हामीले उत्पादन गर्ने गुणस्तरीय छन् । हामीले २० वर्षको वारेन्ट पनि दिएका छौं, अहिले बजारमा देखिने यूपीभीसीका झ्यालढोकाभन्दा हाम्रो उच्च गुणस्तर र कम मूल्यमा पाइन्छ । नेपालको बजारमा अहिले १३ हजार मेट्रिक टन यूपीभीसी प्रोफाइलका झ्यालढोका खपत भइरहेको छ । जसमा ८० देखि ८५ प्रतिशत यूपीभीसीका झ्यालढोका चीन र भारतबाट आयात हुने गरेको उनी बताउँछन् । यो उद्योग सञ्चालनमा आएसँगै ५० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य राखिएको छ । अहिले पनि यो उद्योगका उत्पादनले २० प्रतिशत हिस्सा ओगटेको श्रेष्ठले बताए । चालु वर्षमा यो हिस्सा ३० प्रशित पुर्याइने उनी बताउँछन् । पञ्चकन्या डीमेक्ससहित यूपीभीसीका झ्यालढोका उत्पादन गर्ने उद्योगको संख्या सात पुगेको छ । पहिलेदेखि सञ्चालनमा रहेका उद्योगले विदेशी आयातित यूपीभीसीका झ्यालढोका विस्थापन गर्न नसकेको र यो उद्योगले नयाँ प्रविधिलाई अँगालेर आएको श्रेष्ठ बताउँछन् । पञ्चकन्या डीमेक्सको ६ हजार मेट्रिक टन यूपीभीसी प्रोफाइल उत्पादन गरिरहेको छ । यो उद्योगमा अहिले ६ वटा आधुनिक मेसिन जडान गरिएका छन् । यीमध्ये पाँच वटाले सेतो यूपीभीसी प्रोफाइल निर्माण गर्छन् । एउटा मेसिनले लेमिनेटेड प्रोफाइल तयार गरिरहेको छ ।
उद्योगले जर्मनीसँगै विभिन्न युरोपेली मुलुकको प्रविधि प्रयोग गरेर उत्पादन गरिरहेको छ । उद्योगले कार्यालय पार्टेसनका लागि यूपीभीसी प्यानलसमेत तयार गरिएको छ । उद्योगबाट उत्पादन भएका यूपीभीसी झ्यालढोकाहरू दोस्रो मुलुकमा निर्यात गर्ने लक्ष्य पनि उद्योगको छ । अर्थतन्त्र शिथिल भएको अवस्थामा देशमा नयाँ लगानीको उद्योग खुल्नुलाई सकारात्मक रुपमा लिइएको छ । परम्परागत भ्mयाल ढोकालाई भन्दा नयाँ प्रविधिलाई अँगालिएको पञ्चकन्या डीमेक्सका प्रबन्ध निर्देशक रितेश सिलवालले बताए । नेपालमा उत्पादन हुने यूपीभीसी झ्यालढोकाहरू अहिले सामान्यतय एउटै कलरलमा पाइन्छन् । तर, यो उद्योगमा चार कलरमा यूपीभीसी झ्यालढोका उत्पादन हुने सिल्वाल बताउँछन् । अहिले नेपाली उद्योगले उत्पादन गर्ने नर्मल्ली सेतो यूपीभीसी पाइन्छ । तर, हामीले पहिलो पटक चार कलर गोल्डेन, ब्लाक, ग्रे र उड्लीमा लन्च गरेका छौ । चाइनाबाट आउने ढोकामा पीभीसी ग्यासकेट राखेर फ्रोफाइल नेपालमा पठाइरहेको अवस्था थियो । हामीले आधुनिक टीपीई ग्यासकेट राखेका छौं । पञ्चकन्या डीमेक्सले उत्पादन गर्ने झ्यालढोकामा फ्रिजमा लगाइने ग्यासकेट लगाइएको सिलवाल बताउँछन् । रुपन्देहीको सियारी गाउँपालिका–२ भग्दरीमा उद्योग भएपछि केन्द्रीय कार्यालय ललितपुरको झम्सिखेलमा रहेको छ । काठमाडौंको जडिबुटीमा यो उद्योगको सोरुम रहेको छ ।