नेपालमा आइकार भी–२३ सार्वजनिक

काठमाडौं । नेपालमा ओमोडा र जेइको गाडीहरूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित विद्युतीय एसयूभी ‘आइकार भी–२३’ सार्वजनिक गरेको छ । राजधानीको गैरीधारा, सिल्भर ओकमा आयोजना गरिएको विशेष ‘प्रिभ्यू कार्यक्रम’मार्फत गाडी नेपाली बजारमा देखाइएको हो । औपचारिक लन्च हुनुअघि नै प्रस्तुत गरिएको यो मोडललाई नेपाली बजारका लागि कम्पनीले विशेष महत्व दिएको बताइएको छ । आइकार पनि चीनको चर्चित अटोमोबाइल निर्माता चेरी ग्रुपअन्तर्गतकै ब्रान्ड हो । चेरी दुई दशकदेखि चीनकै प्रमुख अटोमोबाइल निर्यातकर्ता रहँदै आएको छ । अहिलेसम्म यसले विश्वका ८० भन्दा बढी मुलुकमा एक करोड ३० लाखभन्दा बढी सवारीसाधन वितरण गरिसकेको छ । आइकार भी–२३ ले रगेड एस्थेटिक्स, स्मार्ट प्रविधि र सुरक्षित इन्जिनियरिङलाई एउटै प्लेटफर्ममा ल्याएको कम्पनीको दाबी छ । यसमा १०० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ, जसले १८० न्युटनमिटर टर्क दिन्छ । ५९.९३ किलोवाटआवर क्षमताको ब्याट्री प्याकसहित लामो दूरी सहज बनाउन सकिने अनुमान गरिएको छ । गाडीको लम्बाइ चार हजार २२० मिलिमिटर, चौडाइ एक हजार ९१५ मिलिमिटर, उचाइ एक हजार ८४५ मिलिमिटर र ह्विलबेस दुई हजार ७३५ मिलिमिटर छ । ७० प्रतिशतभन्दा बढी भागमा ‘हाइ–स्ट्रेन्थ स्टिल’ प्रयोग भएको र ‘इन्टरप्राइज–ग्रेड ब्याट्री सेफ्टी’ मापदण्ड पालना गरिएको कम्पनीले जनाएको छ । भित्रतर्फ यसको क्याबिन फराकिलो र आरामदायी छ ।

अगाडिको सिटतर्फ सजिलै प्रवेश–निर्गमन गर्न सकिने व्यवस्था गरिएको छ भने पछाडिको सिट अझ ठूलो छ । विशेष किसिमका मेकानिकल नब (डायल) राखिएको । यसले प्रयोगकर्तालाई सहज स्पर्शजन्य अनुभव दिलाउनेछ । आइकार भी–२३, ६ वटा रंग विकल्पमा उपलब्ध हुनेछ । यो मोडलले नेपालसहित विश्वभर बढ्दो विद्युतीय एसयूभीप्रतिको आकर्षणलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा सहभागीहरूले ‘इन्टेलिजेन्ट टेक’ विशेषता प्रत्यक्ष अनुभव गरेका थिए । केहीले परीक्षण ड्राइभमार्फत गाडीको स्मार्ट प्रविधि र एडभेन्चर–रेडी क्षमता पनि महसुस गरेका थिए । एसपीजी अटोमोबाइल्सका अनुसार, नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो चासोलाई मध्यनजर गर्दै कम्पनीले ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको अनुभव दिने उद्देश्य लिएको छ । आइकार ब्रान्डको आधिकारिक विश्वव्यापी सार्वजनिकीकरण सन् २०२५ अगस्टमा भएको हो । यसको पहिलो मोडल भी–२३ छिट्टै नेपालमा औपचारिक रूपमा बिक्रीमा आउने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *