मुक्तिनाथ विकास बैंकको जमल शाखा धुम्बाराहीमा स्थानान्तरण
काठमाण्डौं । मुक्तिनाथ विकास बैंकले आफ्नो धुम्बाराही शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । काठमाडौं महानगरपालिका–४, चिलिमे टावरमा रहेको यस नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले एक विशेष समारोहबीच गरेका हुन् । यसअघि जमलमा सञ्चालनमा रहेको शाखालाई स्थानान्तरण गरी सुरु गरिएको यस शाखाबाट अब आधुनिक र सहज वित्तीय सेवा उपलब्ध हुने बैंकले जनाएको छ । उद्घाटन समारोहमा मन्तव्य राख्दै कार्यकारी निर्देशक पौडेलले मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा पनि सजग रहन सुझाव दिए ।
साथै, उनले बैंकले निरन्तर प्रगति गर्दै उत्कृष्ट सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बैंकका सञ्चालक उमेश आचार्यले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र भविष्यका योजना प्रस्तुत गरेका थिए । त्यस्तै, निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले मुलुकको वित्तीय क्षेत्र सबलीकरणका लागि आवश्यक रणनीतिबारे धारणा राखे । कार्यक्रमको सभापतित्व बैंक सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले गरेका थिए । उनले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सेवाको गुणस्तरमा अझ सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । नयाँ भवनमा सञ्चालनमा आएको शाखामा पर्याप्त पार्किङ सुविधा रहेको छ । रिङरोडसँग नजिक रहेकाले ग्राहकहरूलाई अझ सहज पहुँच हुने बैंकको विश्वास छ । शाखा उद्घाटन कार्यक्रममा संस्थापक, सेयरधनी, पूर्व तथा वर्तमान सञ्चालक, ग्राहक र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो ।