यो वर्षको सुपथ मूल्य पसल आउँदो भदौ ३० गतेदेखि सुरु हुने
काठमाडौं । उपभोक्तालाई राहत दिने उद्देश्यसहित सरकारले यो वर्ष पनि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।
यो वर्षको सुपथ मूल्य पसल आउँदो भदौ ३० गतेदेखि सुरु हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले संयुक्त रूपमा पसल सञ्चालन गर्न लागेका हुन् । गत भदौ ८ गते आइतबार बसेको विभागीय मन्त्रीस्तरीय बैठकको निर्णयानुसार सुपथ मूल्य पसल संचालन गर्न लागिएको हो ।
चाडपर्वको बेला महँगीलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले सुपथ मूल्य पसल संचालन गर्दै आएको छ । देशका प्रमुख सहर तथा ग्रामीण क्षेत्रहरुमा पसल संचालन हुनेछन् । उपभोक्ताले चामलदेखि चिनी, दालदेखि तेलसम्मका दैनिक उपभोग्य वस्तुहरू बजार भन्दा सस्तो मूल्यमा खरिद गर्न सक्नेछन् । यस्ता पसलहरू छठ पर्वसम्म सञ्चालन हुनेछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार चामल, गहुँ, चिनी, दाल, गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइने भएको छ । यस्तै, चिउरा, पिठो, मैदा, आँटामा प्रतिकिलो ७ रुपैयाँ छुट पाइने छ ।
यता, जिरा, धनिया, चियापत्ती, खसी–बोका–च्याङग्रा (जिउँदो) मा प्रतिकिलो १० रुपैयाँ , तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेलमा प्रतिलिटर ७ रुपैयाँ, कर्णाली क्षेत्रका सिमी, फापर, चिनो, कागुनो, उवा, जुम्ली मार्सी तथा बासमती चामलमा प्रतिकिलो १० रुपैयाँ छुट पाइने छन् । यता, साल्ट ट्रेडिङ कर्पोरेशनमा भने नुन र चिनीमा प्रतिकिलो २ रुपैयाँ छुट प्रदान गरिने भएको छ । कर्पोरेशनका अनुसार तेल, चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट पाइनेछ ।
काठमाडौं उपत्यकामा कालिमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, सल्लाघारी, कौशलटार, काडाघारी, इमाडोल, महाराजगञ्ज लगायत १२ स्थानमा सुपथ मूल्य पसल खुल्नेछ । साथै, उपत्यकाभित्र ३ वटा घुम्ती (मोबाइल) पसलहरू पनि सञ्चालनमा ल्याइनेछ ।
उपत्यकाबाहिर भने साल्ट ट्रेडिङका पसलहरू धनगढी, टिकापुर, अत्तरिया, बेलौरी, दिपायल, सुर्खेत, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, त्रिशुली, पोखरा, बागलुङ, भैरहवा, कृष्णनगर, दाङ, डडेलधुरामा संचालन हुनेछन् । यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि काठमाडौं लगायत ४५ जिल्लामा पसल सञ्चालन गर्नेछ ।
झापा, ताप्लेजुङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुङगा, ललितपुर, रसुवा, तनहुँ, गोरखामा संचालन हुने कम्पनीले जनाएको छ । यस्तै, लम्जुङ, मुस्ताङ, बाँके, बर्दिया, खोटाङ, गुल्मी, रोल्पा, रुकुम पूर्व–पश्चिम, कालिकोट, हुम्ला, डोल्पा, दैलेख, दार्चुला, अछाम, बाजुरा, बझाङ, जाजरकोट, मुगु, जुम्ला, बैतडी, कञ्चनपुर, डोटी, सुर्खेत, धनुषा, सिराहा, पर्सामा पनि सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।