राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको तरलता तान्न बन्ड जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा हुने लगानीयोग्य पुँजी (तरलता) तान्न (प्रशोचन) गर्न नयाँ उपकरण प्रयोगमा ल्याउने भएको छ । निक्षेप संकलन र रिभर्स रिपो उपकरणबाट बैंकिङ प्रणालीमा रहेको तरलता तान्ने गरिरहेकोमा अब राष्ट्र बैंकले ऋणपत्र (बण्ड) जारी गरेर खिच्ने भएको छ । ऋणपत्र जारीका लागि तयारी भइरहेको राष्ट्र बैंकको प्रवत्ता तथा कार्यकारी निर्देशक किरण पण्डितले बताए । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थाअनुसार प्रक्रिया अघि बढेको उनले जानकारी दिए । मौद्रिक नीतिमा बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार राष्ट्र बैंक ऋणपत्र निष्काशन गरिने उल्लेख छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीमा भएको तरलता तानिरहेको छ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा लचिलो बनाएको छ । राष्ट्र बैंकले लचिलो मौद्रिक नीति लिए पनि कर्जा विस्तार नहुँदा बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ । प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणबाट धमाधम बैंकिङ प्रणालीबाट तरलता तानिरहेको छ । कर्जाको माग सुस्त हुँदा अर्थतन्त्रमा शिथिलता कायमै रहेको देखाउँछ । बैंक तथा वित्तीय संस्थाको ऋण असुली कमजोर छ । यसको असर बैंकको पुँजीकोष, नाफा र लगानी क्षमतामा देखिएको छ । राष्ट्र बैंकले बुधबार मात्रै ५० अर्ब रुपैयाँ तरलता तानेको छ । २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत तरलता तानेको हो । चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ११ पटक निक्षेप संकलन उपकरणमार्फत पाँच खर्ब ८० अर्ब रुपैयाँ तरलता खिचेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत न्यूनतम २१ देखि अधिकतम ५६ दिनसम्मका निम्ति तरलता प्रशोचन गरेको छ । निक्षेपको तुलनामा कर्जा लगानी विस्तार नभएपछि बैंकिङ प्रणालीमा ६ खर्ब रुपैयाँ अधिक तरलता रहेको छ । तरलता बढेपछि बैंकमा कर्जा–निक्षेप अनुपात (सीडी अनुपात) ७६.४० प्रतिशत छ । राष्ट्र बैंकले सीडी अनुपात ९० प्रतिशत कायम गरेको छ । दुई वर्षको कर्जा विस्तार हेर्दा अघिल्लो वर्ष पाँच प्रतिशत र गत वर्ष ८ प्रतिशतले कर्जा विस्तार भएकाले यसपालि राष्ट्र बैंकको १२ प्रतिशत प्रक्षेपण पुरा हुने दाबी गभर्नर प्राडा विश्वनाथ पौडेलले गरेका छन् । ब्याजदर करिडोरमार्फत राष्ट्र बैंकले ब्याजदर २.७५ प्रतिशत तल नजाने नीति लिएको छ ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता बढी भएपछि ब्याज तिरेर उठाउने गरेको छ भने कम भएमा बजारमा पठाउने गरेको छ । तरलता प्रशोचन गर्दामात्रै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २।७५ प्रतिशत ब्याज भुत्तान गर्छ । राष्ट्र बैंकले तरलता प्रशोचन गर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई वार्षिक अर्बौं रुपैयाँ ब्याज तिर्दै आएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले ब्याजदर करिडोरअन्तर्गत माथिल्लो सीमाका रूपमा बैंक दर ६ प्रतिशत कायम गरेको छ । ब्याजदर करिडोरको तल्लो सीमा निक्षेप संकलन दरलाई ३ बाट घटाई २.७५ प्रतिशत बनाएको छ । नीतिगत दरलाई ५ बाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ । हाल अन्तरबैंक ब्याजदर औसत २.७५ प्रतिशत छ । चालू आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्ष निजी क्षेत्रतर्फ कर्जा प्रवाह १२.५ प्रतिशतले बढ्ने लक्ष्य थियो । गत वर्ष लक्ष्य हासिल गर्न राष्ट्र बैंक असफल भएको छ । गत आर्थिक वर्षमा निजी क्षेत्रमा कर्जा विस्तार ८.४ प्रतिशतमा सीमित भएको थियो । गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुले चार खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ थप कर्जा लगानी गरेका छन् । गत आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गरिएको यो लक्ष्यअनुसार ६ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्ने थियो । अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत मत्र बढेर दुई खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँ बढेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *