बार एसोसिएशनद्वारा अभिव्यक्ति स्वतन्त्रता र प्रदर्शनको अधिकारको संरक्षण गर्न सरकारलाई आग्रह

काठमाडौं । जेनजी समूहद्वारा आयोजित प्रदर्शनमा सुरक्षा निकायले देखाएको दमनात्मक व्यवहारप्रति सर्वोच्च अदालत बार एसोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदर्शनमा सरकारको निर्देशनमा प्रयोग गरिएको बलप्रति बार एसोसिएशनले विरोध जनाएको हो।

संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, सूचना प्रवाह, भ्रष्टाचारविरुद्धको आवाज, तथा शान्तिपूर्ण प्रदर्शनजस्ता मौलिक अधिकारको संरक्षण हुनु पर्नेमा सरकार आफैंले त्यसको उल्लंघन गरेको आरोप एसोसिएशनले लगाएको छ। सर्वोच्च अदालत बार एसोसिएशनका महासचिव रमण कुमार कर्णद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,, ‘जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्ति प्रदर्शन र सुरक्षाकर्मीबाट चलाइएको गोली लागि सयौँ प्रदर्शनकारी घाइते भएको र सार्वभौम नागरिकहरूको मृत्यु समेत हुन गएकोतर्फ यस बारको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विरोध गर्नु सार्वभौम नागरिकको सार्वभौम अधिकार हो। सरकारको दमनकारी शैलीले संविधान र कानूनी शासनप्रतिको अनादर प्रकट गर्दछ।

बारले देशको सर्वोच्च अदालतसँग सम्बन्धित कानुनी पेशाका व्यक्तिहरूको संस्था भएकाले कानूनको शासन, मानव अधिकारको सम्मान र न्यायको स्वतन्त्रताको पक्षमा स्पष्ट रूपमा उभिनुपर्ने दायित्वबोध गर्दै सरकारले स्वतन्त्र विचार, अभिव्यक्ति र शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिक अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ।

प्रेस विज्ञप्तिमा सरकारद्वारा अभिव्यक्ति स्वतन्त्रता र संचारमाध्यमप्रति बढ्दो असहिष्णुता तथा आलोचनात्मक आवाजप्रतिको दमनको प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *