अत्यधिक बल प्रयोग नगर्न सुरक्षा निकायलाई मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । जेन जेड नामक समूहको आह्वानमा आइतबार देशभर विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनका क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप हुँदा सैयौँ घाइते भएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनको क्रममा हुनसक्ने मानव अधिकार उल्लंघनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँ, पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका शहरमा प्रदर्शन भएका जनाएको हो । काठमाडौँको माइतीघरबाट सुरु भएको प्रदर्शन बबरमहल हुँदै बानेश्वरसम्म पुगेपछि प्रदर्शनकारीले संसद् भवन प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रयोग गरेको आयोगले जनाएको छ । यस क्रममा आयोगकै अनुगमन टोली र सवारी साधनमाथि समेत आक्रमण भएको आयोगले जनाएको छ ।

आयोगले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको नि:शुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार नागरिकलाई शान्तिपूर्ण ढंगले विमति प्रकट गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा आयोगले जोड दिएको छ । आयोगले प्रदर्शनलाई तोडफोड र आगजनीमा नपुर्‍याउन प्रदर्शनकारीलाई आह्वान गरेको छ भने सुरक्षाकर्मीलाई अत्यधिक बल प्रयोग नगर्न अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *