भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री कार्कीलाई शुभकामना
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना, मोदीले भनेका छन्, नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ । यसअघि, भारतीय विदेश मन्त्रालयले पनि शुक्रबार नयाँ अन्तरिम सरकारको गठनको स्वागत गर्दै छिमेकी राष्ट्रमा शान्ति र स्थिरता कायम हुने आशा व्यक्त गरेको थियो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, निकटतम छिमेकी, लोकतान्त्रिक साझेदार र दीर्घकालीन विकास साझेदारका रूपमा भारतले दुवै देशका जनताको भलाइ र समृद्धिका लागि नेपालसँग नजिक रहेर काम गरिरहनेछ । जेन्जीको आन्दोलनसँगै तत्कालीन प्रधानमन्त्री कपी शर्मा ओलीले राजीनामा दिएपछि शुक्रबार राति कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ पनि गराइसकेका छन् ।