अन्नपूर्ण सहकारी संस्थाको २८ औं साधारण सभा सम्पन्न
भक्तपुर । मध्यपुर थिमी ३ गठ्ठाघरमा मुख्य कार्यालय रहेको अन्नपूर्ण बहुमुखी सहकारी संस्थाको २८ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्यामसुन्दर बस्नेतको अध्यक्षताका भएको साधारण सभाको प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिकका वडा न ३ का अध्यक्ष कृष्णहरी आचार्य रहेका थिए । सभामा अध्यक्ष बस्नेतले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले वर्तमान समयमा बजारको संवेदनशीलता, शेयर सदस्यहरुको इच्छा र राज्यको नीति अनुरुप जोखिम न्युनीकरणलाई प्राथमिकता दिइएको बताए । उनले संस्था समुदायमा आधारित भएर सञ्चालन भएकाले मुलुकमा आएको विषम परिस्थितिमा समेत संस्थाको बित्तीय अवस्था बलियो रहेको उनको भनाई छ । संंस्थामा ४ हजार २४३ जना सदस्य आवद्ध रहेको र मुख्य कार्यालय सहित ६ वटा सेवा केन्द्र मार्फत सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए । संस्थालाई कानुनी परिपालना सहितको दिगो र स्वस्थ्य सहकारी संस्थाको रुपमा स्थापित गर्ने उनको भनाई छ । संस्थागत शुसासन कायम गरी बित्तीय सन्तुलनका साथ ऋण असुलीलाई प्राथमिकता दिएर संस्था अगाडि बढेको उनले सभामा बताए । संस्थाले सदस्यहरुको माग अनुसार ऋण लगानी गर्न सक्ने भन्दै अध्यक्ष बस्नेतले सदस्यहरुले बचत मात्र नगरी ऋण लिन समेत आग्रह गरे । अध्यक्ष बस्नतेले नमुनायोग्य संस्था बनाउन लागि परेको जानकारी दिँदै यसका लागि सदस्य,सञ्चालक र कर्मचारी वर्गले सहयोग गर्न आग्रह गरे ।

संस्थाका सचिव राजन प्रसाद पराजुलीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०५४ सालमा स्थापना भएको सहकारीले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणको लागि निरन्तर लागि परेको बताए । उनले गत आर्थिक बर्ष २०८१।८२ को असार मसान्तसम्म संस्थाले गरेका गतिविधिको बारेमा सभामा जानकारी गराउदै अनुत्पादक खर्च कम गरी खराव कर्जालाई न्युनिकरण गरी बलियो संस्था बनाउन लागि परेको सो अवसरमा जानकारी दिए । संस्थाले गत आ।ब।मा महिला सदस्यलाई तिर्थाटान,कानुनी साक्षरता कार्यक्रम,सहकारी शिक्षा तथा क्षमता विकास कार्यक्रम, स्टेशनरी वितरण,महिला सदस्यहरुको लागि सौन्दर्य तालिम,फुटशल प्रतियोगिता,क्षमता विकास तालिम,जीवन विज्ञान योग साधना र क्यालेन्डर प्रकाशन तथा विरतण जस्ता कार्यहरु गरेको सभामा जानकारी दिए । संस्थाले यस आर्थिक बर्षमा सदस्यहरुको हितको लागि प्रविधिमैत्री सेवा सञ्चालन गर्ने,ग्रामीण क्षेत्रका लघुवित ऋणी सदस्यहरुलाई ऋण सदुपयोगिता साक्षरता कार्यक्रम गर्ने,वित्तीय साक्षरता,सदस्य सम्मान, तिर्थटान,उद्यमशीलता विकास तालिम सञ्चालन गरिने उनले सभामा जानकारी दिए ।

संस्थाकी कोषाध्यक्ष मिराकुमारी भट्टराईले आर्थिक बर्ष २०८१।८२ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै शेयर पुँजी ८ करोड ९१ लाख,जगेडा कोष ३ करोड ९४ लाख, बचत संकलन ५१ करोड ६७ लाख ९९ हजार र ऋण लगानी ५५ करोड ५६ लाख ९९ हजार पुगेको बताइन् । उनले संस्थाले कुल सम्पत्तिको ५ प्रतिशत भन्दा तल अर्थात ३ करोड ११ लाख ६८ हजार वाह्य ऋण रहेको र गत बर्षमा कुल सम्पत्ति ६९ करोड ९६ लाख पुगेको सभामा जानकारी दिइन् । लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक सुनिल पराजुलीले समितिको प्रतिवेदन प्रस्तुत गर्दै कर्जा लगानी गर्दा एका घर परिवारका एक जनालाई मात्र ऋण लगानी गर्न, भाखा नाघेको ऋण असुलीका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन तथा वाह्य तथा आन्तरिक लेखा समितिले दिएका सुझावहरुलाई पूर्ण पालना गर्नको लागि सुझाव दिए । सभामा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई समेत पुरस्कार तथा सम्मान गरिएको थियो ।
















