काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वार्षिक साधारण डिल्लीबजारमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१।८२ को नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सानी हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ । यस्तै, आव २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको कम्पनी सचिव रमेश लुईटेलले जानकारी दिएका छन् ।
नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराइटर), सेयर रजिष्ट्रार तथा डि–म्याट खाता सञ्चालन जस्ता कार्यको अनुमति प्राप्त सिटिजन्स क्यापिटल सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी हो । यसमा कर्मचारी सञ्चय कोषसहित प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ । हाल कम्पनीको अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठ रहेका छन् । काठमाडौं बाहिर रहेका लगानीकर्ताहरुलाई सहज पहुँच उपलब्ध गराउन सिटिजन्स क्यापिटलले पोर्टफोलियो व्यवस्थापन सेवा सिटिजन्स बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध गराउँदै आएको छ ।