बंगलामुखी साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न
भक्तपुर । सुर्यबिनायक नगरपालिका २ बसिडोलमा रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १८औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अतिथि संस्थाकी जेष्ठ सदस्य जगतलक्ष्मी श्रेष्ठ रहेकी थिइन्। सहकारी विभाग र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनको पालना गर्दै सभालाई सदस्य केन्द्रीत बनाएको र सदस्यहरुबीच वार्षिक नीति तथा कार्यक्रममा छलफल गरी पारित गरिएको संस्थाले जनाएको छ। संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठले सभामा वार्षिक प्रतिवदेन प्रस्तुत गर्दै सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्दै आएको बताए। उनले कतिपय सहकारी संस्था समस्याग्रस्त भएको अवस्थामा बंगालमुखी सहकारी पनि त्यहि बाटोमा गएको त छैन भन्ने शंका सदस्यको मनमा आउनु स्वाभाविक भए पनि संस्था वित्तीयरुपमा बलियो रहेको सभामा बताए ।
सदस्यको साथ सहयोग र विश्वासले संस्था बलियो हुँदै गएको उनले बताए । सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा संस्थाका लागि परेको भन्दै अध्यक्ष श्रेष्ठले ४ बर्षे रणनीतिक योजना बनाएर अगाडि बढेको उल्लेख गरे । संस्थाको लक्ष्य अनुसार शेयर पुँजी, सदस्यता र बचत संकलनमा समेत वृद्धि भएको उनको भनाई छ । संस्थालाई गलत दिशामा नलगी सदस्यको आर्थिक उन्नतीलाई पहिलो प्राथमिकतामा राखेर लैजाने उनले प्रतिवद्धता जनाए । संस्थाको बचतलाई कसरी सुरक्षित रुपमा परिचालन गर्ने भनेर आफुहरु लागि परेको र सुरक्षित लगानीको लागि बलियो कानुनी प्रक्रिया पुरा गर्दै आएको समेत उनको भनाई छ। संस्थाले विनियमका आधारमा ३६ वटा आन्तरिक नीति तथा कार्यविधि बनाएको र आवश्यकता अनुसार परिमार्जन गरी अगाडि बढ्ने अध्यक्ष श्रेष्ठले उल्लेख गरे। संस्थामा २० प्रतिशत माथि तरलता रहेको बताउँदै उनले बैंक तथा वित्तीय संस्थामा न्युन ब्याजदरमा रकम राख्नु परेकाले ऋण लिएर सदस्यहरुलाई उद्यमव्यवसाय गर्न आग्रह गरे । कर्मचारी, ऋण उपसमिति र सञ्चालकहरुको अथक मेहनतले ऋण असुली राम्रो भएकाले यस बर्ष पनि सदस्यलाई ७ प्रतिशत लाभांश दिने उनले सभामा जानकारी दिए । सदस्यहरुलाई घरदैलोमा नै सेवा दिने उदेश्यले प्रविधिमैत्री सेवा अगाडि बढाएकाले त्यसको उपभोग गर्न उनले सुझाए । संस्थाले बचत ऋणको कारोबारसँगै समुदायको विकासमा पनि विभिन्न क्षेत्रमा टेवा पु¥याउँदै आएको उनले सभामा जानकारी दिए ।
त्यसैगरी सचिव बालकृष्ण श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आबमा भए गरेका गतिविधि र चालु आबको वार्षिक कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । यस बर्ष संस्थाले ऋण लगानीलाई विविधिकरण गरी कृषि, पशुपालन, साना उद्योग, व्यवसाय र नविकरणीय उर्जामा लगानी गर्ने, सीप विकास तालिकको आयोजना गर्ने, सामुदायिक कार्यक्रमहरुलाई निरन्तरता दिने तथा वित्तीय साक्षरतामार्फत संस्थाले लिने सेवा सुविधाको वारेमा सदस्यलाई जानकारी दिने योजना रहेको उनले बताए । कोषाध्यक्ष श्याम प्रधानले सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी १४ करोड ३८ लाख ३१ हजार, बचत संकलन १ अर्ब १६ करोड ४ लाख र ऋण लगानी १ अर्ब ६ करोड २३ लाख रहेको जानकारी दिए । संस्थामा ३ हजार ६४४ सदस्य आवद्ध रहेका छन् भने जगेडा तथा अन्य कोष ५ करोड ८४ लाख पुगेको छ । संस्थाले त्यस अवधिमा १ करोड ७६ लाख ९८ हजार खुद बचत आर्जन गरेको छ । संस्थाकी उपाध्यक्ष सरु श्रेष्ठले स्वागत मन्तव्य राख्दै संस्था नीति विधिमा सञ्चालन भएको र वित्तीय रुपमा झन बलियो हुँदै गएकाले सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न आग्रह गरिन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले सभा सञ्चालन गरेका थिए । उनले बचतऋणको सेवा मार्फत् सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्नुका साथै डिजिटल प्रयोगलाई निरन्तर बढाउँदै लगेको बताए । वित्तीय पारदर्शिता र आर्थिक अनुशासनमा संस्था सञ्चालन गरेकाले सदस्यको बचतको पूर्ण सुरक्षा रहेको उनको भनाई छ । सभाकै अवसरमा एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरी, असल बचत कर्ता र ऋणीलाई सम्मान गरिएको थियो ।