कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न दबाब
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान नै चलाएका हुन् । ६ असोजबाट विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु भएको हो । कांग्रेसको विधान अनुसार विशेष महाधिवशेन बोलाउन सकिने व्यवस्था छ । विशेष महाधिवेशन आव्हान गर्न केन्द्रीय समितिले निर्णय लिनुपर्ने वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ । विधानको दफा १७ (२) मा भनिएको छ,‘ केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने छ । विशेष महाधिवेशनको निर्णय केन्द्रीय समितिबाट हुने सम्भावना क्षीण रहेकाले हस्ताक्षर अभियान सुरु गर्नुपरेको अगुवा नेताहरुले जानकारी गराएका छन् ।
हस्ताक्षर सबै प्रदेशमा सुरु गरिने अभियानका अगुवाइ गर्ने मध्येका एक नारायण भट्टराईले जानकारी गराए । उनले भने, ‘हस्ताक्षर अभियानमा यो त्यो समूह भन्ने छैन । विशेष महाधिवेशन माग गर्ने सबै पक्षका साथीहरु हुनुहुन्छ ।’ परिवर्तित राजनीतिक अवस्था र विषम परिवेशमा कांग्रेस मुकदर्शक भएर बस्न नहुने हस्ताक्षरकर्ताहरुले विज्ञप्ति निकालेर जनाएका छन् । ‘अहिलेको परिस्थिति आउनुमा विगतमा पार्टीले अख्तियार गरेका नीति, निर्णय, कदम, काम कारबाही त जिम्मेवार छैनन् ? भनि नेतृत्वलाई प्रश्न गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । नेतृत्वको कार्यशैलीमा प्रश्न उठाउनेहरुलाई किनाराकृत र विभेद गरिएको विज्ञप्तिमा उल्लेख छ । कांग्रेसका केही भ्रातृ संस्था र केही जिल्ला तथा स्थानीय तहको नेतृत्वले पनि विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।