२०० मिलिमिटरभन्दा बढी वर्षा हुने पूर्वानुमान

काठमाडौं । आउँदो बुधबारदेखि आइतबारसम्म हुने झरीमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । मौसमविद् विनोद पोखरेल आफूले हेरिरहेका मोडेलले २०० मिलिमिटरभन्दा बढी वर्षा हुने देखाइरहेको बताउँछन् । “मैले हेरिरहेका पूर्वानुमानमा केही क्षेत्रमा आगामी वर्षा अवधिभरको कुल वर्षा २०० मिलिमिटरभन्दा बढी हुनसक्ने संकेत छ,” सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन्, “यो एकै दिनको वर्षा भनेर बुझ्नु हुँदैन । वास्तविक मात्रा, समय र प्रभावित क्षेत्र अझै फेरिन सक्छन् ।” २०० मिलिमिटर वर्षा हुँदा यसको असर कति समयमा, कहाँ र कस्तो अवस्थामा पर्छ भन्नेमा भर पर्ने उनी प्रस्ट पार्छन् । “छोटो समयमा परे मनसुनमै पनि जोखिमपूर्ण हुन्छ । कात्तिकमा धान भित्र्याउने र हिमाली क्षेत्रमा यात्रा गर्ने समय भएकाले यसको असर झन् गम्भीर हुन सक्छ,” उनी भन्छन् । हावाहुरी वा असिना पनि परेको अवस्थामा जोखिम थपिने उनको भनाइ छ । “उच्च हिमाली क्षेत्रमा भारी हिमपात, चिसो र हिमपहिरोले जोखिम बढाउन सक्छ,” उनी अगाडि लेख्छन्, “मौसमको अपडेट र आधिकारिक सूचनाअनुसार मात्र यात्रा योजना बनाऔँ ।” मौसमविद् पोखरेलले यसपटक विकास भइरहेको प्रणाली सन् २०१४ अक्टोबर १४ को हिमआँधी आएको समयको जस्तै भएको बताएका छन् । “हुदहुद चक्रवातसँग सम्बन्धित त्यस घटनामा अन्नपूर्ण आसपासका पदयात्रा क्षेत्रसहित ४३ जनाले ज्यान गुमाएका थिए ।

अहिलेको पूर्वानुमानमा त्यस घटनासँग केही समान मौसमी संकेत देखिएको छ,” उनी भन्छन्, “तर, पनि परिणाम उस्तै हुन्छ भन्ने होइन । आशा छ, यसपटक हामी समयमै सचेत भएर अझ राम्रो तयारी गर्नेछौँ ।” उनले पहिलेका वर्षा र पहिरोले कमजोर बनाएका सडक तथा भिरालो जमिनमा थप वर्षाले पहिरो, सडक अवरोध र बाढीको जोखिम बढाउन सक्ने बताएका छन् । बंगालको खाडीको न्यूनचापीय प्रणाली नेपालनजिक आउँदा माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग अन्तरक्रिया भए भारी वर्षाको सम्भावना बढ्ने उनले बताएका छन् । यसैबीच, नेपालमा झरी पार्ने प्रणाली विकास हुन सुरु भइसकेको छ । शुक्रबार बिहान ५ः४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको हो । उक्त न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते, सोमबार चक्रवात आँधीमा विकसित हुने नेपाल मौसम विज्ञान विभागले बताएको छ । चक्रवात आँधीमा विकसित भइ पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनको भू–भागमा प्रवेश गर्ने सम्भावना छ । उक्त मौसम प्रणालीका कारण कात्तिक ११ (बुधबार) देखि १५ गते (आइतबार)सम्म नेपालको मौसम प्रभावित हुनसक्ने देखिएको विभागले बताएको छ । “यद्यपि, यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन,” विभागले भनेको छ, “तर, सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिन्छ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *