सुरक्षा जोखिमका कारण राष्ट्र बैंकको वेबसाइट पनि अस्थायी रूपमा बन्द
काठमाडौं । वेब प्रविधिमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइट लगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । केन्द्रीय बैंकले आज (२०८३ कात्तिक ६ गते) एक अत्यन्त जरुरी सूचना जारी गर्दै सम्भावित साइबर सुरक्षा खतराबाट बच्न सेवाहरू केही समयका लागि स्थगित गरिएको जनाएको हो । वेबसाइट बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमा मागेको छ । यस अवधिमा बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीहरू आधिकारिक सामाजिक सञ्जालमार्फत उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । साथै, विश्वव्यापी रूपमा देखिएको उक्त सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन, सर्भरमा प्रयोग भइरहेका प्रणालीहरूलाई सबलीकरण गर्न तथा नियमित सुरक्षा निगरानी बढाउन सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूलाई राष्ट्र बैंकले विशेष अपिल गरेको छ।

















