आईएमई ग्रुपका अध्यक्ष ढकालको नेतृत्वमा ६६.३० मेगावाटको जलविद्युत आयोजना बन्दै

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलविद्युतमा पनि प्रवेश गर्ने भएका छन् । आईएमई ग्रुपको नेतृत्वमा अब मिडिल कालीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने भएको हो । देशको ठूला व्यावसायिक घराना आइएमई ग्रुपले हाइड्रो सपोर्ट प्राली कम्पनीबाट ६६.३० मेगावाटको मिडिल कालीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने जानकारी दिएको हो । उक्त आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङमा निर्माण गरिने भएको हो । यस कम्पनीको अध्यक्षमा पनि ढकाल रहेका छन् । उनको यो कम्पनीमा ३१ प्रतिशत सेयर स्वामित्व रहेको छ । ढकालले डोर्दी (२७ मेगावाट), मिस्त्री खोला (४२ मेगावाट) र तादी खोला (६ मेगावाट) जस्ता जलविद्युत् आयोजनामा समेत लगानी तथा व्यवस्थापन अनुभव राख्छन् । मिडिल कालीगण्डकी जलविद्युत् आयोजनाको कुल लागत करिब १४ अर्ब ८४ करोड रुपैयाँ अनुमान गरिएको छ । यस आयोजनाको व्यावसायिक सञ्चालनको समय सन् २०२८ तोकिएको छ । हालसम्म कम्पनीका प्रमोटरहरूले करिब २८ प्रतिशत इक्विटी पूँजी भुक्तानी गरिसकेको बुझिएको छ ।

सरकारले जलविद्युतलाई प्राथमिकतामा राखेको, कर छुट जस्ता प्रोत्साहन नीति ल्याएको र बैंकहरूलाई ऊर्जा क्षेत्रमा अनिवार्य ऋण प्रवाह गर्न निर्देशन दिएको कारण दीर्घकालीन माग सकारात्मक रहने र लगानीकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको रेटिङ एजेन्सी इन्फोमेरिक्सले उल्लेख गरेको छ । हालसम्म यस आयोजनाको करिब १० प्रतिशत भौतिक प्रगति भएको बताइएको छ । आयोजनाले हाल जग्गा अधिग्रहण र सिभिल संरचनामा उल्लेख्य प्रगति गरेको जनाएको विज्ञप्तिमा उल्लेख छ । हाइड्रो सपोर्टले नेपाल विद्युत प्राधिकरणसँग दीर्घकालीन विद्युत खरिद सम्झौता गरी ६६.३ मेगावाट विद्युत बिक्री गर्ने सम्झौता गरिसकेको छ । यसअघि ५३.५३९ मेगावाटका लागि गरिएको सम्झौतामा यस वर्ष थप १२.७६१ मेगावाट क्षमता समावेश भएको उल्लेख छ । कम्पनीले ११ अर्ब ३६ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । जसका लागि इन्फोमेरिक्सले डबल बी माइनसको रेटिङ दिएको छ । यो आयोजनाका लागि नबिल बैंकले ३.१२ अर्ब, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट मेगाले २,२ अर्ब, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले १,१ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *