कोजाग्रत पूर्णिमाका अवसरमा चियापान कार्यक्रम हुँदैन : कांग्रेस
काठमाडौं । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यसपालि नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नहुने जानकारी दिएका हुन् । ०३३ सालमा जननायक बीपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्केपछि हरेक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान गर्दै आएको थियो ।
कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, चाडबाडको समयमा समग्र मुलुकका नागरिक शोकमा डुबेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालय समेत आगजनी गरी ध्वस्त पारिएको अवस्थामा हामी देशभक्त नेपाली नागरिकबीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ । आमनेपाली अकल्पनीय शोकमा रहेकाले यो वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगर्ने कांग्रेसले जनाएको छ ।