दशैं पछिको पहिलो कारोबार दिन नेप्सेमा उच्च गिरावट
काठमाडौं । दशैं बिदापछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजारमा भारी गिरावट भएको छ । बजार परिसूचक नेप्से २.१९ प्रतिशत अर्थात् ५८.५५ अंकले घटेर २६०४.९६ को बिन्दुमा झरेको छ । नेप्सेका सबै उपसूचकमा गिरावट हुँदा नेप्सेमा भारी गिरावट देखिएको हो । गत भदौको जेनजी आन्दोलनका कारण देखिएको राजनीतिक अस्थिरता र दशैं लगत्तैको भारी वर्षपछि आएको बाढी र पहिरोको कारण भएको क्षतिले मुलुकको आर्थिक अवस्थामा ठूलो धक्का लागेको छ । जसले गर्दा सेयर बजारमा पनि त्यसको प्रभाव देखिएको हो । मंगलबार बजारमा साढे ४ अर्ब माथिको सेयर कारोबार भएको छ । ५५ हजार ४५० वटा कारोबारमा १ करोड ३ लाख ४५ हजार ९०२ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेको सबै उपसूचक ४.८३ प्रतिशतले गिरावाट हुँदा हाइड्रोपावर उपसूचक २.७४ प्रतिशत र होटल तथा पर्यटन उपसूचकमा २.७१ प्रतिशचतले गिरावट भएको छ । बिहीबार बजारका कारोबार भएका मध्ये युनियन हाइड्रोपावरको सेयर सर्वाधिक २८ करोड ३२१ लाख रुपैयाँको किनबेच हुँदा नेपाल पुनर्बिमा कम्पनीको १९ करोड ४५ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्स कम्पनीको १२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार दोस्रो बजारमा कारोबार भएकामध्ये मूल्य धेरै बढेकाहरुमा शीर्ष ३ मा ऋणपत्र छन् । सूचीकृत कम्पनीमा सिक्लेस हाइड्रोपावरको सेयर मूल्य ७.७२ प्रतिशत र थ्रीस्टार हाइड्रोपावरको सेयरमूल्य ६.६० प्रतिशतले बढेर बन्द भएको छ । यता भुगोल इनर्जीको सेयरमूल्य ९.९९ पतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नेपाल पुनर्बिमा कम्पनीको सेयरमूल्य ८.५७ प्रतिशतले घटेको छ । मंगलबार कुल २५२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २३५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १६ कम्पनीको वृद्धि हुँदा एक कम्पनीको स्थिर छ ।