चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका छन् । चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री कार्की बिहीबार अपरान्ह अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेललाई लिएर राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएकी थिइन् । ‘राष्ट्रपतिले भयरहित ढंगले चुनाव हुने वातावरण तय गर्नका लागि सबैलाई विश्वस्त पार्न सरकारलाई सुझाव दिनु भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेकी थिइन् । भेटमा संलग्न सञ्चारमन्त्री खरेलका अनुसार चुनावका लागि सरकार र निर्वाचन आयोगले गरिरहेका कामहरुकैबारे छलफल भएको छ । ‘सरकार, राजनीतिक दल, जेनजी लगायत सबै चुनाव समयमै हुने कुरामा स्पष्ट भएर जानुपर्छ भन्ने राष्ट्रपतिको सुझाव सरकारले ग्रहण गरेको छ,’ खरेलले भने, ‘चुनाव समयमा गर्ने कुरामा राष्ट्रपतिको पनि स्पष्ट धारणा छ ।

त्यसैले मुलुकका सबैको मिसन चुनाव मात्रै हो त्यही तर्फ सबैको ध्यान हुनुपर्छ भन्ने छ ।’सरकार बनेको करिब तीन महिना बितिसकेको छ । तर यो बीचमा राजनीतिक दलहरूसँग सरकारको औपचारिक संवाद भएको छैन । राजनीतिक दलका नेताहरूले यो बीच राष्ट्रपति पौडेलललाई भेटेर चुनावका मुख्य सरोकारवाला दललाई सरकारले वास्ता नगरेको भन्दै गुनासो पनि गरिरहेका थिए । केही दिन अघि कांग्रेसका नेताहरु पुगेर राष्ट्रपति पौडेललाई राजनीतिक संवादका लागि सहजीकरण गर्न राष्ट्रपतिकै ध्यानाकर्षण गराएका थिए । दसैं अघि एमाले नेताहरुले पनि राष्ट्रपतिलाई भेटेका थिए । त्यसक्रममा उनीहरुले सरकारले चुनाव गराउने दिशामा ध्यान नदिएको धारणा राष्ट्रपतिसमक्ष राखेका थिए । तर बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले भने वर्तमान सरकारप्रति विश्वास नरहेकाले चुनावमा भाग नलिने घोषणा गरेका छन् । त्यस्तै केपी शर्मा ओली र कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी परेको र उनीहरूलाई पक्राउ गर्न दबाब समेत दिएकाले चुनावको राजनीतिक वातावरण बिग्रेला कि भन्ने चिन्ता थपिएको छ । यही अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीले बिहीबार शीतल निवासमा चुनावमै केन्द्रित भएर करिब ४० मिनेट छलफल गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *